June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

मूल्य बढ्ने चर्चाले शेयरमा नयाँ चमक

वैशाख लागेपछि शेयर बजारमा सुधार हुने चर्चासँगै पछिल्ला दिनमा नेप्से सूचक तथा कारोबार रकम बढिरहेको छ । पछिल्लो तीन वर्षदेखि शेयर बजार लगातार वियरिस ट्रेण्डमा रहेकोले सम्पुर्ण कम्पनीको बजार मूल्य तल्लो विन्दुमा झरेको छ । बजारमा वियरिस ट्रेण्ड सकिएको भन्दै लगानीकर्ताले सस्तो मूल्यमा शेयर खरिद बिक्री बढाउँदा समग्र सूचक र कारोबारमै सुधार आएको हो । तीन वर्षदेखिको वियरिस ट्रेण्डमा ११०० को विन्दु नै सबैभन्दा तल्लो विन्दु हुन सक्ने अनुमानले बजारमा सुधारको संकेत देखिएको हो । दैनिक २० देखि ३० करोडको हाराहारीमा कारोबार हुँदै आएकोमा बजार सुधार हुने संकेत देखिएसँगै यस हप्ताको सुरुवाति दिनमा ९० करोड रुपैयाँसम्मको कारोबार भएको थियो । बियरिस ट्रेण्ड सकिएर वुलिस ट्रेण्ड सुरु हुनु अगाडि बजार बढ्ने अंकभन्दा घट्ने अंक थोरै हुन्छ । यस महिनाको कारोबारलाई हेर्दा यस्तै संकेत देखा परेको छ । गएका बर्षमा बैंकको व्याजर उच्च रहेको हुँदा बजार बढ्न सकेन । वैशाख लागेसँगै बैंकको व्याजदर घट्न सक्ने हुँदा त्यसको लाभ लगानीकर्ताले लिन सक्ने देखिएको छ । वैशाख लागेसँगै सरकारको पूँजीगत खर्च बढ्ने तथा यसले बजारमा तरलता बढाउने अनुमान गरिएको छ । सकारको विकास खर्च बढ्ने वित्तिकै बैंकिङ च्यानलमा पैसा आउन थाल्छ। बजारमा क्यासफ्लो बढ्न थालेसँगै बैंकको व्याजदर पनि घट्न थाल्ने अनुमान गरिएको हो । बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक वित्तीय विवरण वैशाखमा सार्वजनिक गर्छन् । अधिकांस सूचिकृत कम्पनीको नाफा बढेर आउने हुँदा यसको प्रभाव शेयर बजारमा पर्ने हुन्छ । बजार बढ्नुमा सरकार शेयर बजार प्रति सकारात्मक देखिनु पनि हो । सुरुवाति अवस्थामा अर्थमन्त्री शेयर बजार प्रति अनुदार देखिए पनि राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय फोरममा घट्दो शेयर बजारलाई लिएर प्रश्न आउन थालेपछि उनी बजार सुधारका लागि सक्रिय भएको अवस्थामा बजार केही माथि उक्लेको हो । यसले गर्दा सरकार प्रति लगानीकर्ताको विश्वास पनि बढ्दै गएको छ । जस्ले बजार माथि उठाउन सहयोगी भूमिका खेलेको हो ।