April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

बजेट भन्दा व्यापार घाटा ठूलो

बजेट भन्दा व्यापार घाटा ठूलो
आर्थिक वर्षको अधिल्लो नौ महिनामा व्यापार घाटा ९ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । आयात उच्च दर वृद्धिको तुलनामा निर्यात सुस्त हुँदा व्यापार घाटा चुलिएको हो । अघिल्लो आर्थिक वर्षको ९ महिना अवधिसँग तुलना गर्दा २२ प्रतिशतले व्यापार घाटा बढेको छ । चैतको वैदेशिक व्यापार घाटा एक खर्ब ३ अर्ब रुपैयाँ छ । अहिलेकै दरमा व्यापार घाटा वृद्धि भए यो आर्थिक वर्षको अन्त्यसम्म १४ खर्ब ३० अर्ब व्यापार घाटा हुने अनुमान छ । यो आकार चालु आर्थिक वर्षको बजेटभन्दा ठूलो हो । सरकारले १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएकोमा मध्यावधि समीक्षामा गरिएको संशोधित अनुमान अनुसार ११ खर्ब ९९ अर्ब रुपैयाँ खर्च हुनेछ । सरकारले विलासी वस्तु तथा गुणस्तरहीन वस्तुको आयात निरुत्साहित गर्ने भने पनि आयातमा आधारित राजस्व नीतिका कारण कडाइ गर्न सकेको छैन । सवारी साधनमा २२९ प्रतिशत हाराहारीमा कर र बैंकले दिने ऋणमा पनि मूल्यको ५० प्रतिशत मात्र ऋण दिन पाइने व्यवस्थाले पनि सवारीसाधन आयात निरुत्साहित गरेको छैन । नेपाल राष्ट्र बैंकले दुई वर्ष अघि गरेको अध्ययनमा सरकारले गर्ने खर्चको ७१ प्रतिशत आयातका लागि बाहिरिने गरेको थियो । विकास खर्च तर्फको रकम भने मूल्य अभिवृद्धिमा उपयोग हुन्छ । संघीय संरचना अनुसार तीन तहको सरकार गठनसँगै तल्लो तहका सरकारमा सवारीसाधन खरिद फेसन बनेको छ । आगामी बजेटले आयात प्रतिस्थापन गर्ने वस्तु उत्पादनमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने, उत्पादनमा अनुदान दिएर पूर्वाधार विस्तार गरेर या प्राविधिक सहयोग दिएर उत्पादन बढाउन नसके घाटा थेगि नसक्नु हुन्छ । भन्सार विभागको तथ्यांकअनुसार यो अवधिमा प्रमुख व्यापार साझेदार भारत र चीनबाट हुने आयातको हिस्सा कुल आयातको क्रमशः ६४.८ र १४.५ प्रतिशत छ भने कुल निकासीमध्ये भारत र अमेरिकाको हिस्सा क्रमशः ६३.४ र ११.४ प्रतिशत छ । साउनदेखि चैतसम्म कुल १० खर्ब ६१ अर्ब रुपैयाँ आयात भएको छ । निर्यात करिब ७० अर्ब रुपैयाँ हाराहारीमा छ । आयात निर्यातको हिस्सा विश्लेषण गर्दा नेपालले १ रुपैयाँ मूल्यको वस्तु निकासी गर्दा १५ रुपैयाँ २० पैसा बराबरको वस्तु आयात गरिरहेको हुन्छ । यस अवधिमा आयात भएका प्रमुख वस्तु पेट्रोलियम हो । पेट्रोलियम आयातमा मुलुकबाट एक खर्ब ८२ अर्ब बाहिरिएको छ । त्यस्तै, एक खर्ब ८ अर्बको फलाम र स्टिल, ९० अर्ब जतिको मेसिनरी, ७० अर्बको सवारीसाधन र ६६ अर्बको विद्युतीय सामग्री आयात भएको छ । निर्यातमा भने पहिलो सूचीमा पामको तेल छ । यस अवधिमा ७ अर्ब ३४ करोड रुपैयाँको पामको तेल निर्यात भएको छ । ७ अर्ब २४ करोडको धागो, ५ अर्ब ७६ करोडको गलैंचा, ५ अर्ब ६८ करोडको चिया तथा कफी र ५ अर्ब जतिको फलाम र स्टिलका सामग्री निर्यात भएको छ ।