April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

निराशाले आरक्षित सेयर सर्वसाधारणलाई बिक्री

शेयर बजार घट्ने क्रम नरोकिँदा प्राथमिक बजारमा छुट्याइएको आरक्षित शेयर समेत बिक्री हुन छाडेको छ । अंकित मूल्य भन्दा कम मूल्यमा दोस्रो बजारमा शेयर कारोबार हुन थालेपछि आरक्षित शेयर खरिद गर्न झनै मुस्किल परेको हो । पछिल्लो समय निष्कासन भएका धेरैजसो कम्पनीको शेयर बिक्री नभएपछि सर्वसाधारणकै समूहमा राखेर बिक्री गर्ने गरेका छन् । कुनैपनि धितोपत्र निष्कासन भएपछि सामूहिक लगानी कोषलाई पाँच प्रतिशत शेयर आरक्षित गर्नु पर्ने प्रावधान छ । सामूहिक लगानी कोष नियमावली २०६७ मा उक्त व्यवस्था छ । उक्त व्यवस्था अनुसारनै सामूहिक लगानी कोषकालागि छुट्ट्याइएको शेयर कोषहरुले खरिद नगरे उक्त शेयर सर्वसाधारणलाई बिक्री गर्न सकिने प्रावधान समेत भएका काराणले सर्वसाधारणलाई शेयर विक्री गरेर आरक्षणको शेयर विक्री गर्ने गरेका छन् । सोही प्रावधान अनुसार कोषकालागि आरक्षित शेयर बिक्री नभएपछि सर्वसाधारणलाई बिक्री गरिएको हो । सामुहिक लगानी कोषको लागि छुट्याइएको पाँच प्रतिशत शेयर समेत बिक्री नभएपछि कम्पनीले सर्वसाधारणलाई नै ती शेयर भिडाउन थालेका छन् । धेरैजसो जलविद्युत कम्पनीका शेयर सामूहिक लगानीकोषले खरिद गर्न छाडेपछि ती शेयर सर्वसाधारणलाई भिडाउन थालिएको हो । जलविद्युत कम्पनीसँगै वास्तविक क्षेत्रका कम्पनीको समेत शेयरमा सामूहिक लगानी कोषले चासो दिएका छैनन् । राधी जलविद्युत कम्पनी, जोशी हाइड्रो पावर कम्पनी, घलेम्दी हाइड्रो पावर कम्पनी, युनिभर्सल पावर, शुभम् पावर कम्पनी र युनियन हाइड्रोपावरका शेयरलाई सर्वसाधारणमै राखेर बिक्री गरेका छन् । केही सामूहिक लगानी कोषले निश्चित कित्ता शेयर खरिद गरेका भएपनि ती कम्पनीको शेयर दोस्रो बजारमा बिक्री गरेर बाहिरिने गरेका छन् । पाँचथर पावर कम्पनीले निष्कासन गरेको शेयर स्थानीयले जम्मा १९ प्रतिशत मात्रै खरिद गरेका छन् । कम्पनीले स्थानीयकोलागि ९ लाख ६२ हजार ५०० कित्ता शेयर निष्कासन गरेको थियो । तर स्थानीयले एक लाख ७४ हजार ५०० कित्ता शेयरका लागि मात्रै आवेदन दिए जुन माग गरिएको भन्दा ८१ प्रतिशत कम हो । कम्पनीले रितपूर्वक आवेदन दिने आवेदकलाई माग बमोजिम शेयर बाँडफाँड गरी बाँकी शेयर सर्वसाधारणलाई निष्कासन गर्ने भएको छ । अब कम्पनीले सर्वसाधारणलाई १७ लाख ५० हजार दुई सय ५० कित्ता शेयर निष्कासन गर्ने छ जसमा सामूहिक लगानीकोषले खरिद गर्नुपर्ने ८७ हजार ५१२ कित्तामध्ये बिक्री नभएको शेयर समेत समावेश गरी सर्वसाधारणकोलागि निष्कासन गर्ने तयारी कम्पनीको छ । कम्पनीको शेयर आरक्षित भएपनि किन्नै पर्ने बाध्यता नभएकोले समेत शेयर खरिद नगरिएको हो । कम्पनीले बजारको अवस्था र प्रतिफलको सुनिश्चिताको आधारमा शेयर खरिद गर्ने गर्छ । सोही कारण आरक्षित शेयर खरिद नगरिएको हो ।