April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

१९ देशसँग व्यापार नाफा १३ खर्बको आयात गर्दा ८७ अर्बको निर्यात

१९ देशसँग व्यापार नाफा १३ खर्बको आयात गर्दा ८७ अर्बको निर्यात
चालू आर्थिक वर्षको पहिलो ११ महिना अर्थात् जेठ मसान्तसम्ममा नै देशको व्यापार घाटा १२ खर्ब ११ अर्ब रुपैयाँ नाघेको छ, यो ऐतिहासिक रूपमा उच्च व्यापार घाटा हो । गत वर्षको तुलनामा व्यापार घाटा साढे १७ प्रतिशतले बढेको छ । नेपालको प्रमुख व्यापारिक साझेदार राष्ट्र भारतसँगको मात्र व्यापार घाटा ७ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ । नेपालको कुल वैदेशिक व्यापारमा भारतले मात्र ६५ प्रतिशत हिस्सा ओगट्छ । जेठ मसान्तसम्म नेपालले १३ खर्ब रुपैयाँबराबरको आयात गर्दा यहाँबाट केबल ८७ अर्ब ८३ करोड रुपैयाँको मात्र निर्यात भएको छ । नेपालको कुल निर्यातको रकमले सवारी साधान आयातको पैसामात्र तिर्न पुगेको देखिन्छ । चालू आर्थिक वर्षको ११ महिनामा ८४ अर्ब ४२ करोड रुपैयाँको त सवारी साधनमात्रै आयात भएको छ भने १ खर्ब ८५ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । भारतबाट ८ खर्ब ४१ अर्ब रुपैयाँको आयात हुँदा नेपालबाट त्यसतर्फ ५६ अर्ब ५९ करोड रुपैयाँको निर्यात भएको छ, जसबाट व्यापार घाटा ७ खर्ब ८५ अर्ब रुपैयाँ नाघेको हो । नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार चीनसँगको व्यापारमा पनि व्यापार घाटा १ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्षको जेठसम्म चीनबाट १ खर्ब ८६ अर्ब रुपैयाँको आयात हुँदा नेपालबाट केबल १९ अर्बको मात्र निर्यात भएको छ । नेपालले हाल १५५ भन्दा बढी देशसँग आफ्नो वैदेशिक व्यापारको कारोबार गर्दै आएकोमा १९ देशसँगमात्र व्यापार नाफाको अवस्था छ । सबैभन्दा व्यापार नाफा मध्य अफ्रिकासँग रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ । नेपालबाट मध्य अफ्रिकी गणतन्त्रमा २ अर्ब ७७ करोडको वस्तु निर्यात भएकोमा त्यहाँबाट केबल १७ लाखको मात्र वस्तु आयात भएको छ ।