शेयरमा बजेट लचिलो

शेयर बजारको विषयलाई लिएर चर्को विरोध खेप्दै आउनु भएका अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारका लगानीकर्ताले सोचेको भन्दा पनि बढी बजेटमा लचकता अपनाउनु भएको छ । यो सँगै शेयर बजार विरोधीको रुपमा चिनिएका खतिवडाले सुधारका लागि धेरै प्रयास गरेको बजेटमा देखियो । अर्थमन्त्री भएसँगै शेयर बजार लगातार गिरावटमा आएको थियो । बजार घट्दै गर्दा उनको राजीनामासम्म माग्न भ्याएका लगानीकर्ताले नमागेका माग समेत खतिवडाले संबोधन गरिदएका हुन् । कुनै पनि लगानीकर्ताले यस पटक पूँजीगत लाभकर घट्ने माग राखेका थिएनन् । लाभकर बढाउँदा केहि फरक नपर्ने तर यसलाई अन्तिम करको रुपमा गणना गर्न माग गरेका थिए । खतिवडाले गतवर्ष पूँजीगत लाभकर ५ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत पुर्याएका थिए । प्यानको विषयलाई लिएर आन्दोलन गर्नेहरुका लागि पनि उनले बजेटबाट थप प्रस्ट्याइदिएका छन् । उनले निश्चित रकमसम्मको कारोबार गर्नेलाई मात्रै स्थायी लेखा नम्बर ‘प्यान’ लागु हुने व्यवस्था गरिदिएका छन् । थोरै रकमको कारोबार गर्ने साना लगानीकर्ताहरु प्यानको दायरामा अनिवार्य जानुपर्ने छैन । यो विषयलाई लिएर समेत लगानीकर्ताले चर्को विरोध गरेका थिए । विरोधपछि नेपाल धितोपत्र बोर्डले पाँच करोड रुपैयाँ भन्दा माथिको कारोबार गर्ने लगानीकर्ताहरुको लागि मात्रै प्यान अनिवार्य हुने व्यवस्था गरिदिएको थियो । बजेटमा भएको व्यवस्था अनुसार बोर्डको उक्त निर्देशनलाई नै संवोधन गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै बैंकको साथै बीमा कम्पनीहरुको विग मर्जरलाई प्रोत्साहन गर्ने कार्यक्रम अगाडि बढाउने घोषणा गरेका छन् । पछिल्लो सयम बैंकर संघका अध्यक्षले नै विग मर्जरलाई जोड दिनुपर्ने बताइरहेको बेला खतिवडाले बजेट मार्फत नै बैंकको सार्थ बीमा कम्पनीहरुलाई पनि विग मर्जरमा लैजाने नीति घोषणा गरेका हुन् । बैंक र बीमाको बिग मर्जरलाई प्रोत्साहन गर्ने उल्लेख गरेपनि बैंकर्स संघले माग गरेजस्तो आयकरको छुट भने दिइएको छैन । तर सरकारले आयकर ऐन २०५८ मा व्यवस्था भए बमोजिम मर्जर तथा प्राप्तीमा जाने बैंक तथा वित्तीय संस्थालाई थप एक वर्ष लाभांश कर छुट दिने सुविधा बजेटले गरेको छ । हाल बैंक तथा वित्तीय संस्थाले दुई वर्ष लाभांशकर छुट पाउँदै आएकोमा अब मर्जर तथा एक्वीजिशनमा जाने बैंक तथा वित्तीय संस्थाका शेयरधनीहरुले थप एक वर्ष गरि तीन वर्ष लाभांशकर छुट पाउने भएका हुन् ।