April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

सुनचाँदी निक्षेपमा राख्ने सुरिलो कुरो

सुनचाँदी निक्षेपमा राख्ने सुरिलो कुरो

अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६÷७७ को बजेट संसदमा पेश गर्दा सुन चाँदीलाई समेत बैंकमा निक्षेपका रुपमा राख्न मिल्ने एउटा बिल्कुलै नयाँ कुरा ल्याए । यो प्रावधान किन र कुन सोचद्वारा अभिप्रेरित भएर ल्याइएको होला यो धेरैका लागि जिज्ञासाको विषय बनेको छ । अर्थविद तथा अर्थतन्त्रका जानकारका अनुसार राष्ट्र बैंकले मुद्रा छाप्दा जम्मा दुइवटा आधारहरुमा आधारित भएर कुन परिणाममा छाप्ने भन्ने निर्धारण गर्छ । एक, बिदेशी मुद्राको संचिति र दोस्रो बहुमुल्य धातुहरु जस्तै सुन, चाँदी इत्यादि भण्डारण । यी दुवै कुरालाई ५०÷५० प्रतिशतको भार दिएर मुद्राको परिणाम निर्धारण गरिन्छ । यदि आम जनतासँग रहेका यस्ता धातुहरुलाई राज्यको कोषमा संचितिका रुपमा राख्न सकियो भने हाम्रो अर्थतन्त्रमा मुद्रा छाप्ने क्षमता बृदि हुने देखिन्छ । अर्को कुरा यो पनि होकी सुनचाँदी जस्ता धातुहरुलाई पनि एक प्रकारको नगद कै रुपमा लिइन्छ । चाहेको बेला नगदमा परिणत गर्न सकिने हुनाले यसलाई नगद झैँ बैंकमा डिपोजिट गर्ने व्यवस्था गरिएको छ । बैंकहरुले कर्जा, पूँजी र निक्षेप (सीसीडी) अनुपातमा नगदको हिस्सा घटाउने र यसैलाई आवश्यक निक्षेपको रुपमा गणना गर्ने भन्ने योजना यसमा समेटिएको छ । त्यसका अलावा अहिले बैंकहरुले नगद नै मौज्दात राख्नुपर्ने अनिवार्य नगद मौज्दात (सिआरआर) र वैधानिक तरलता अनुपात कायम गर्न पनि यस्ता धातुलाई नगद कै मान्यता दिएर काम चलाउने उद्देश्यका साथ बजेट आएको छ । सिसिडी रेसियोमा सुनलाई निक्षेपको रुपमा गणना गर्ने उद्देश्यका साथ सुनको नयाँ प्राबधान ल्याइएको हो । नगदलाई सजिलै परिचालन गर्न सकिन्छ । अर्थमन्त्रीले यसलाई तरलता अभाव हटाउने एउटा विधिको रुपमा प्रयोग गरेको पनि हुनसक्ने बताएका छन । बैंकर तथा विश्लेषकहरुका अनुसार यस्तो व्यवस्था किन गरियो र निक्षेपको विधि अनि ब्याजको शर्त के र कस्तो हुने भन्ने कुरामा स्पष्ट हुन चाहीं हामीले मौद्रिक नीतिको घोषणासम्म प्रतिक्षा गर्नैपर्ने देखिन्छ ।