अर्थतन्त्रले विश्वास घुमाउँदा बजारमा

अर्थतन्त्रले विश्वास घुमाउँदा बजारमा

अहिले बजारमा उपभोग्य सामानदेखि विद्युतीय सामग्री, सवारीसाधन तथा निर्माण सामग्रीसमेतको बिक्री घटेको छ । यसरी बिक्री घट्नुको प्रमुख कारण वित्तीय प्रणालीमा तरलताको कमी हुनु नै हो । तर, अहिलेको प्रमुख समस्या भनेको अर्थतन्त्रको विश्वास घटेको छ । कुनै एक क्षेत्र घट्यो भने त्यसले अन्य धेरै क्षेत्रलाई घटाउँछ । व्यापारको चक्र सजिलोसँग चल्न नसक्दा अर्थतन्त्रमा पनि त्यसले चक्रीय नै असर गर्ने रहेछ । अहिलेको प्रमुख समस्या भनेको वित्तीय प्रणालीमा पैसा अभाव भएपछि त्यसले त्यस्तै चक्रिय प्रभाव सृजना गरेको छ । अहिले उपभोक्ताको मनस्थिति कमजोर भएपछि त्यसले बजारलाई प्रभाव पार्छ । बजारमा उपभोक्ताले माग घटाउन थालेपछि व्यवसायीले स्टक घटाउँछन् । पहिला कसैले डेढ महिनाका लागि आवश्यक स्टक राखेर काम गरिरहेको थियो भने त्यसले घटाएर १५ दिनको मात्रै स्टक राख्छ, १० दिनमा झार्नथाल्छ । त्यसले स्वाभाविक रुपमा विक्री घट्छ । उदाहरणका लागि अहिले बैंकहरू दीर्घकालीन लगानी गर्न चाहँदैनन्, छोटो समयको ऋण दिन खोज्छन् । किनभने बजार अस्थिर भएको वेला अल्पकालीन लगानी गर्नु सुरक्षित हुन्छ । त्यसले व्यापारलाई प्रोत्साहन गरेको छ भने उद्योगका लागि पुँजी उपलब्ध छैन । राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रमा निश्चित लगानी गर्नुपर्छ भनेर नियम बनाएको छ । तर, त्यसबाट कसरी भाग्ने भन्ने विषयमा बैंकहरूसँग विशेषज्ञता छ । त्यसो हुँदा व्यापारका लागि अहिले पनि रकम उपलब्ध छ, तर उद्योगका लागि छैन । अहिले शेयर बजार जुन तहमा आएको छ, त्यहाँ लगानी गर्दा राम्रो प्रतिफल हुनसक्छ । अहिलेको शेयर मूल्यमा राम्रो प्रतिफल छ । तर, मानिसहरू शेयर बजारमा लगानी गर्ने मनस्थितिमा छैनन । घरजग्गा व्यवसायमा पनि त्यही स्थिति छ । अन्य क्षेत्रमा पनि त्यही भइरहेको छ । त्यसो हुँदा बजार प्रणालीले राम्रो काम गर्न उपभोक्ताको आत्मविश्वासको भूमिका निकै महत्वपूर्ण हुन्छ । उपभोक्ताको आत्मविश्वास बढाउन सरकारले सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने भएको छ । अहिले सबै क्षेत्रमा नकारात्मक सन्देश मात्रै प्रवाह भएको छ ।

त्यसो हुँदा उपभोक्ता र लगानीकर्ताको आत्मविश्वास बढाउन सरकारले केही काम गर्नुपर्ने हुन्छ । तर, यो काम सजिलो भने छैन । जब आत्मविश्वास कम हुन्छ, त्यसबेला मानिसहरूले अल्पकालीन लगानी मात्रै गर्न चाहन्छन । त्यो भनेको व्यापार मात्रै प्रोत्साहित हुन्छ । दीर्घकालीन लगानीका लागि अर्थतन्त्रमाथिकै विश्वास बढ्नुपर्छ, लगानीकर्ताको आत्मविश्वास बढ्नुपर्छ । अहिले निजी क्षेत्रका ठूला लगानीकर्ताहरू नै दीर्घकालीन लगानी गर्न चाहिरहेका छैनन । शिक्षा तथा स्वास्थ्य क्षेत्रमा निजी लगानीलाई सरकारले निरुत्साहन गर्न खोजेको देखिन्छ । अन्य क्षेत्रमा पनि नियन्त्रण गर्न खोजेको हो कि जस्तो देखिन्छ । त्यसो हुँदा लगानीकर्ताहरूको मनोविज्ञानलाई सकारात्मक बनाउन आवश्यक छ । विदेश भ्रमणमा जाने नेपालीलाई सटही सुविधा २ हजार ५ सय अमेरिकी डलर दिइँदै आएकोमा त्यसलाई १ हजार ५ सय डलरमा झारियो । यो सानो नीतिगत परिवर्तन हो । तर, त्यसको सन्देश भने निकै नकारात्मक गएको छ । नेपालमा विदेशी मुद्राको संकट नै परेको हो कि भन्ने सन्देश गएको छ  । त्यस्तै पछिल्लो समयमा आएको उपभोक्ता संरक्षण ऐनले समेत लगानीकर्तालाई निरुत्साहित गरेको छ । यस्तो अवस्थामा मानिसहरू छिटो नाफा हुने अल्पकालीन लगानीतर्फ लाग्छन् । सरकारले गरेको सुधार र नीतिगत परिर्वतनले सकारात्मक सन्देश जानुपर्ने हो । तर, त्यो हुन सकिरहेको छैन । सरकारले भ्याट छुटको व्यवस्था हटायो । निर्यात प्रोत्साहनमा निजी क्षेत्रले ठूलो आशा गरेको थियो । सरकारले केही वस्तुमा अनुदानको घोषणा त ग¥यो । तर, न्यो अपेक्षाअनुरुप हुन सकेन । खासगरी भारततर्फ हुने निर्यातमा सरकारले अनुदान देला भन्ने आशा थियो । किनभने हामीले अहिले पनि अमेरिकी डलर विक्री गरेर भारु किन्नुपरेको छ  । भारतमा भारुमा हुने निर्यात बढ्दा यो समस्या समाधान हुन सक्ने थियो । भारत हाम्रो नजिकको ठूलो बजार हो । हाम्रो सबैभन्दा ठूलो निर्यात पनि भारतमै छ । तर, सरकारले भारतमा हुने निर्यातलाई नै प्रोत्साहित गर्न सकेन । यसले पनि लगानीकर्ताहरू निरुत्साहित भएका छन ।