June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

डन्डी उद्योगमा अस्वस्थ प्रतिस्पर्धा

डन्डी उद्योगमा अस्वस्थ प्रतिस्पर्धा

पचासको दशकको आरम्भ थियो, मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा फलामे डन्डी कारखाना ह्वात्तै थपिए । तर विडम्बना भयो, साठीको दशक सुरु नहुँदै अधिकांश कारखाना बन्द गरिए । त्यो बेलामा हिमाल, हामा, पंचकन्या, कमला र पशुपति आइरन मात्रै बचे । अरु देखासिकीमा लगानी गरेका उद्योग बन्द भए । यतिखेर पनि त्यही पचासको दशक डन्डी उद्योगमा दोहोरिने सम्भावना बढेर गएको छ । माग भन्दा आपूर्ति बढी भएपछि फलामे डन्डी उद्योगको संकट सुरु भएको छ । भूकम्प र नाकाबन्दीपछि डन्डीको अस्वभाविक माग देखेर दर्जन भन्दा बढी उद्योग स्थापना भए । तर घरजग्गाको कारोबारमा मन्दी, विकास आयोजनाको मन्द गतिसँगै माग बढ्न सकेन् भने बजारमा आपूर्ति बढी भयो । बजारमा राम्रो नाफा देखेर डन्डी उद्योगमा आएका नवप्रवेशी र क्षमता विस्तार गरेका उद्योगलाई अहिले संचालन खर्च जुटाउनै मुस्किल परेको छ । त्यस्मा पनि करको नयाँ प्रबधान देखि चन्दा आतंक जस्ता कुराले उद्योग ब्यावसाय समस्या देखिएको छ । यस्ले झण्डै आधा खर्बको हाराहारीमा यो क्षेत्रमा भएको लगानी संकटमा पर्ने संकेत देखा परेको छ । अहिले बजारमा वार्षिक ११ लाख टन माग छ तर संचालनमा रहेका उद्योगले १८ लाख टनको हाराहारीमा डन्डी उत्पादन गरिरहेका छन् । ठूला लगानीमा आएका श्री, प्रिमियर, आरती स्ट्रिप्सनै अहिले समस्यामा छन् । पूराना स्टील उद्योगले जेनतेन आफ्नो संचालन खर्च धानिरहेका छन् । डन्डी बजारमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने जगदम्बा स्टीलमा समेत समस्या देखिन थालिसकेको छ । यो उद्योगको बजार ठूलो भएकाले तत्कालै समस्या नदेखिएपनि यस्तै अवस्था रहे ६ महिनाभित्र संकटमा पर्नेछ । डन्डीको माग देखेर नयाँ लगानी गरेका तर संचालनमा नआइसकेका उद्योग समेत ‘पर्ख र हेर’को अवस्थामा छन् । अम्बे समूहको नेपालगंजको जयअम्बे स्टील पनि उपयुक्त समयको पर्खाईमा छ । लक्ष्मी गुप्रले दुई अर्ब लगानीमा स्थापना गरेको सिद्धिलक्ष्मी स्टील उद्योग पनि संचालनमा आउने तयारीमा छ । नवलपरासीमा स्थापना भएको यो उद्योगले दशैंको पूर्वसन्ध्यामा डन्डी उत्पादन सुरु गर्दैछ । डन्डी उद्योगमा संकट पर्नुको मूख्य कारण हो माग भन्दा आपूर्ति बढी । आपूर्ति बढी हुनेवित्तिकै डिलरहरुले उधारोमा डन्डी लिए । नयाँ उद्योगले समेत आफ्नो सामान बिक्रीका लागि बैंक ग्यारेन्टी लगायतको कुनैपनि सुनिश्चतता नगरि डन्डी बिक्री गरे । उद्योगीका अनुसार डन्डी उद्योगको उधारो ६ महिनासम्म पुगेको छ । अझ बजारबाट पैसानै उठ्न छाडेको छ । योसँगै अन्र्तराष्ट्रिय बजारमा विलेटको मूल्य पनि घटेकोछ यस्ले ब्यवसायमा समस्या थपेको छ ।