देशैभर प्यान लिनेको घुइँचो

देशैभर प्यान लिनेको घुइँचो

व्यक्तिगत रुपमा पारिश्रमिक आयआर्जन गर्ने तथा व्यावसायिक रुपमा गरिएका अर्थ उपार्जनका गतिविधिहरुको विवरण चुस्तदुरुस्त बनाउनका लागि सरकारले जेठ १५ गतेदेखि प्यान र भ्याट अनिवार्य गरेपछि प्रमाणपत्र लिनेको सख्यामा वृद्धि भएको छ । सरकारले सो व्यवस्था गरिएपश्चात् विशेषगरी व्यक्तिगत प्यान प्रमाणपत्र लिन आउनेको सख्या ह्वात्तै बढेको हो । व्यवसाय, रोजगारी वा कुनै आयआर्जन गरेपछि तपाईंले सरकारलाई कुनै न कुनै रूपमा कर बुझाउनैपर्छ । जानाजान वा अन्जानमा तपाईंले कर नबुझाए सरकारी कारबाही तथा जरिवानामा पर्न सक्नुहुन्छ । जसले तपाईंको व्यवसाय, रोजगारी वा आयआर्जनमा अप्ठ्यारो पार्न सक्छ । कर तिर्न योग्य हुनका लागि निश्चित नीति नियम तथा मापदण्ड छन् । स्थायी लेखा नम्बर अर्थात् प्यान प्रत्येक करदाताको पहिचानका लागि दिइने स्थायी संकेत अंक हो । यो ९ डिजिटको हुन्छ । कुनै व्यक्तिले व्यवसाय गर्ने स्थल वा व्यवसायको प्रकृति वा अन्य विवरण बदली गरेपनि करदाताको संकेत नम्बर भने स्थायी हुन्छ । यो कर तिर्ने प्रयोजनमा काम लाग्छ । यसबाहेक कुनै पनि आधिकारिक निकायलाई कर प्रयोजनका लागि आवश्यक परेका सूचना समेत यहाँ भण्डारण गरिएको हुन्छ । व्यवसाय वा आय आर्जनमा संलग्न हुने व्यक्ति वा अग्रीम करकट्टी गर्ने व्यक्तिले स्थायी लेखा नम्बर लिनुपर्ने कानूनी प्रावधान छ । अहिले सरकारी कार्यालय, सार्वजनिक संघसंस्था, विद्यालय, विश्वविद्यालय, अस्पताल, गैरसरकारी संस्थालगायत निजी क्षेत्रका संघसंस्था एवम् उद्योग व्यवसायिक र्फमबाट कर्मचारी कामदारको एकमुष्ट फाराम भराउन सकिने सुविधा दिइएको छ । नेपालमा काम गरिरहेका विदेशी नागरिकले समेत अनिवार्य स्थायी लेखा नम्बर लिनुपर्ने भएको छ । आन्तरिक राजस्व विभागका अनुसार व्यक्तिगत स्थायी लेखा नम्बरका लागि विदेशीले निज कार्यरत रहेको कार्यालयको सिफारिस र विदेशी भनी प्रमाणित गराउने कागजात अनिवार्य बुझाउनुपर्छ । नेपालको अनौपचारिक क्षेत्रमा ठूलो संख्यामा भारतीय कामदार कार्यरत छन् । तर, कति संख्यामा छन् भन्ने खुलेको छैन । उनीहरुलाई अन्य देशका नागरिकलाई जस्तो श्रम स्वीकृति चाहिँदैन । प्यान नम्बर लिन पनि उनीहरुलाई श्रम स्वीकृति आवश्यक पर्दैन । अनलाइनबाट पनि दर्ता फाराम भर्न सकिन्छ । कार्यालयले स्थलगत रुपमा टोली खटाउन माग गरे विभागबाट सम्बन्धित कार्यस्थलमै कर्मचारी खटाएर प्यान नम्बर प्रदान गर्ने व्यवस्था सरकारले मिलाएको छ । व्यक्तिगत रुपमा नजिकको करदाता सेवा कार्यालय तथा आन्तरिक राजस्व कार्यालय पुगेर प्यान लिन सकिने व्यवस्था मिलाइएको छ । यसका लागि नागरिकताको फोटोकपि र फोटो आवश्यक हुन्छ ।