May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

सुन आयात ब्यापार घाटामा समस्या

सुन आयात ब्यापार घाटामा समस्या

केही महिनादेखि सुनको भाउ निरन्तर बढेपछि कारोबार भने ठप्पजस्तै भएको छ । मुलुकको व्यापार घाटा धान्नै नसक्ने गरी बढेका बेला सुनमात्रै साढे ३४ अर्बको आयात भएको छ । उच्च व्यापार घाटाले अर्थतन्त्रमा समस्या पार्ने संकेत देखिएकाले विलासी वस्तु सुन आयात घटाउन सरकारले उपाय खोज्नुपर्ने देखिएको छ । सुन आयात गर्दा डलर तिर्नुपर्ने भएकाले यसको असर मुलुकको भुक्तानी सन्तुलनमा पनि परेको छ । भन्सार विभागका अनुसार आव ०७५÷७६ मा ३४ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको सात हजार चार सय ९३ किलो सुन आयात भएको छ । अर्थशास्त्रीहरु पनि व्यापार घाटा कम गर्न सरकारले तत्कालका लागि विलासी वस्तु आयात कम गर्ने नीति अख्तियार गर्न सुझाव दिन्छन् । विलासी वस्तुको आयातले अर्थतन्त्रको सन्तुलनमा नै असर परिरहेकाले सुन आयात गर्दा लाग्ने भन्सार महसुल वृद्धि गरेर व्यापार घाटा नियन्त्रण हुने छ । विभागको तथ्यांकअनुसार गत वर्ष व्यापार घाटा १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । यो मुलुकको कुल बजेटभन्दा पनि धेरै हो । गत आर्थिक वर्ष मुलुकको कुल बजेट १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ थियो । आव ०७४÷७५ मा ३१ अर्ब ७८ करोड ८७ लाख रुपैयाँ र आव ०७३÷७४मा २३ अर्ब २३ करोड १६ लाख रुपैयाँको सुन आयात भएको भन्सार विभागले जनाएको छ । नेपालमा सुनको आयात बर्सेनि बढ्दै गएको छ । बजारमा सुन बिक्री नभएपछि वाणिज्य बैंकमा करिब साढे चार अर्ब रुपैयाँको सुन थन्किएको छ । दैनिक २० किलो सुन बिक्री गर्दै आएका बैंकबाट असार यता दैनिक एक किलो सुन पनि बिक्री भएको छैन । नेपाल बैंकर्स एसोसिएसनका अनुसार अहिले बैंकमा ६ सय ४३ किलो सुन स्टक छ । जेठ १५ गते बजेट भाषणमा भन्सार दर बढाएपछि घटेको सुन कारोबार पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा निरन्तर भाउ बढेपछि ठप्प भएको हो ।