पर्यटन वर्ष खोक्रो चर्चा मात्र

पर्यटन वर्ष खोक्रो चर्चा मात्र

सरकारले सन् २०२० लाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको छ । आजभन्दा २१ वर्षअघि पनि यसैगरी नेपाल पर्यटन वर्ष मनाएको थियो । हाम्रो देशमा ‘कामभन्दा कुरा ठूला, हिँड्ने बेला खुट्टा लुला’ भन्ने उक्तिको चरितार्थ निरन्तर भइरहेको छ । कुनै पनि निर्णय लहडमा गर्नु र त्यसको गुणात्मकतामा ह्रास उत्पन्न भएपछि दोष अर्कालाई थोपर्ने हाम्रो सनातन चरित्र नै हो । कुन उद्देश्यले प्रेरित भएर यस्ता कार्यक्रमको डिजाइन गरिन्छ ? त्यो आफैमा खोजीको बिषय हो । तर धेरै योजना ‘फेरि गरौं न त’ देखाइदिउँन त भन्ने अभिप्रायले गरिने गरेको छ । उनै थोत्रा मल्लकालीन दरबार, उही पोखराका तालतलैया र लुम्बिनीको विज्ञापनमा देशले २० लाख पर्यटक ओराल्ने हल्ला मच्चाएको छ । दुई–चार जना मन्त्री र कर्मचारीले एयरपोर्टमा पिताम्बरी खादा लगाइदिएर पर्यटकको आगमन कदापि वृद्धि हुँदैन । प्रकृतिको आवरणमा भौतिक भव्यताको सिर्जना, आवश्यकता अनुसारका होटल÷लज, स्वास्थ्य सुरक्षाको प्रत्याभूति र साँच्चिकै देखाउन लायकका नमुना पेस नगर्ने हो भने यो केवल धामीझाँक्रीको ढ्याङ्ग्रो पिटाइमात्रै हुनेछ । पर्यटकले नेपालको अव्यवस्था, यहाँका नागरिकको व्यवहार, असुविधा, बाटोघाटोको अवस्था र नीतिगत पक्षपातलाई राम्रोसित बुझेका छन् । हाम्रो देशले पर्यटक भित्र्याउने तथ्यांकमा पनि अतिसयोक्तिको क्रीडा गर्छ तर जब पर्यटक लोभ्याउने पूर्वाधारको कुरा आउँछ, लुतुक्क चुक्छ । हाम्रो देशले नारा बडो सुन्दर आविष्कार गर्छ । ‘छोरो पाउनु कता‑कता कन्धनी बाट्ने तर्खर’ खुब मनोयोगका साथ गर्छ । पर्यटक भित्र्याउने तथ्यांकमा पनि अतिसयोक्तिको क्रीडा गर्छ तर जब पर्यटक लोभ्याउने पूर्वाधारको कुरा आउँछ, लुतुक्क चुक्छ । देशमा काला, गोरा, राता, चेप्टा थेप्चा, नेप्टा होचा, अग्ला कुनै पनि पर्यटक भित्र्याउन खोज्नु अनिष्ट होइन । पर्यटक आइदिए देशको पहिचान पनि हुने र अलिअलि हरिया डलर सुँघ्न पाइने कुरालाई फलिफाप नै मान्नुपर्छ । एउटा पर्यटक आउँदा उसले राष्ट्र स्थानीय उत्पादकलाई डलरको छोप लगाइदिएको हुन्छ नै । त्यसबाट विदेशी मुद्राको सञ्चितिमा टेवा पुग्नुका साथै अनेकन् देशका नागरिकसित सम्पर्क पनि बन्न जान्छ । सायद यही बहुलाभदायी उपलब्धिलाई बुझेर विश्वका तमाम देशले पर्यटक आकर्षित गर्न मरिहत्ते गर्छन् र त्यसका लागि पर्यटक अनुकूलको वातावरण निर्माण गर्छन् । कुनै पनि देशको नागरिक अर्को देशमा जानका लागि केही त्यस्ता विशेषता हुनैपर्छ । विश्वकै आकर्षक गन्तव्य बन्नका लागि प्राकृतिक रमणीयता, मानवीय कलाकृति, सांस्कृतिक उल्लास, जनताको व्यवहार, शान्तिसुरक्षा, उचित आवास र स्वास्थ्यको सहज सुविधा प्रमुख आधार मानिन्छन् । साथै, पर्यटकलाई दिइने सेवा र आतिथ्य पनि सबल मुद्दाका रूपमा रहेका हुन्छन् । आजको पर्यटक हिजोको जस्तो छैन । हिजो विश्वको एकमात्र हिन्दू राष्ट्र, अग्लो हिउँको ढिस्को र बुद्ध जन्मेको देश भनेर पनि पर्यटक आइदिन्थे । अब ती कुरा फिक्का लाग्ने भइसकेका छन् । आजका पर्यटक दुबईको बुर्ज खलिफा, मलेसियाका आकाशचुम्बी भवन, फ्रान्सको एफिल टावर र चाइनाका सुपर फास्ट रेलमा आकर्षित हुन थालेका छन् । यस्ता मानवनिर्मित संरचनाले तिनका मनमा तिखो प्रभाव पार्छन् र स्वदेशमा गइसकेपछि बेलिविस्तार लगाउने विषय पनि हुन्छन् । पूर्वाधारको सम्पन्नताबिना गरिएको आह्वान ‘बूढी आमैले लगाएको लिपिस्टिक मात्रै’ हुन जान्छ । अतिथि देवो भवः को नारा अलाप्नेको व्यवहार ? अन्तराष्ट्रिय विमानस्थलमा लगभग २४ सै घन्टा हवाई सेवा सञ्चालनमा छ । कोही मध्यरातमा आउँछन, कोही दिउँसो । अफ्ठ्यारोमा परेको विदेशी पर्यटकले सम्पर्क गर्न त्यहाँ एक थान टेलिफोन सुविधा छैन । कोही एउटा फ्रिको फोन राख्ने बारेमा समेत सोच्दैनन किनकी त्यही आउने पर्यटक झुक्किएमा पैसाका आउने जो कोहीलाई थाहा छ । अथवा जानेरै त्यस्तै चोरचण्डालका माध्यमबाट कमिसन लुँड्याउनका लागि कृत्रिम अभाव देखाएका हुन् ? एयरपोर्ट्भित्रको अर्को गिरोह त्यहाँ झम्टा मार्न पल्केको हुन्छ । जब पर्यटक आफ्नो लगेज (सामान) लिएर बाहिर आउँछन, गिरोहले जबर्जस्ती लगेजमा हात लगाउँछन् र आगन्तुकलाई ‘तिम्रो मान्छेले मलाई लिन पठाएको’ भन्छन् । अनि नजिकै र्पुयाएर फेरि पैसा माग्न थाल्छन् । खास लिन गएको मान्छेलाई भ्रम पर्छ कि आगन्तुकले उसको इच्छाले सामान बोकाएबापत पैसा दिएको होला । त्यस्तै ट्याक्सी ड्राइभरले लिने नाजायज भाडा पनि उनीहरूको मन भाँच्चिने अर्को कारण बनेको हुन्छ । एयरपोर्टको चंगुलबाट मुक्त भएपछि उनीहरूको प्रवेश पर्यटकीय क्षेत्रमा हुन्छ । त्यहाँका फुटपाथे बेचुवाहरूले उनीहरूलाई आफ्नो सामान भिडाउन गरेको ख्याङख्याङको दृश्य कति शर्मनाक देखिन्छ । पशुपति क्षेत्र होस् वा अन्य कुनै दरबार क्षेत्र, त्यहाँको प्रवेश शुल्क देख्दा पर्यटकलाई घुमाउरो भाषामा ‘प्रवेश नगर’ भन्न खोजेको प्रतीत हुन्छ । प्रत्योक ठाउँमा प्रवेश शुल्क छ । पैसा तिररै भित्र पस्यो त्यो पनि डुलुवा ब्यापरीको समान किन्नै पर्ने प्रवधानले हैरान, देशको कला सस्कृति हेर्ने भन्दा पनि बढी डुलुवाको समान हेरेर पर्यटक फर्कन्छन् । पर्यटकलाई भिखारी बनाउन खोज्ने यो पाराले देशमा पर्यटक आउन असम्भव नै छ । पर्यटक बिरामी परेको अवस्थामा यहाँका अस्पतालको संवेदनाहीनताको कुरा पनि प्रश्न नै उठछ । नेपाली बिरामीलाई ५०० रुपैयाँमा जाँच्ने सुविधा भएको अस्पताल प्रशासनले पर्यटकलाई ५० डलर माग्छन । यातायातमै पनि ठूलो समस्या देखिएको छ । त्यही ठाउँमा नेपाली जाँदा ६ हजार लाग्नेमा विदेशीलाई २१ हजार रुपैया सम्म लाग्ने गरेको छ । यो के हो ? यसरी पर्यटन प्रवर्धन हुन्छ ? के विदेशी चढ्दा प्लेनले बढी इन्धन खपत गर्छ ? निश्चय पनि स्वदेशी हुनुको नाताले कुनै पनि देशको नागरिकले आफ्नो भूमिमा सहुलियत पाउँछ । विदेशीलाई सबै राष्ट्रले अतिरिक्त शुल्क लिन्छन् । तर पर्यटनलाई नै वैदेशिक मुद्रा आर्जनको मुख्य आधार बनाउने नेपालजस्तो सामान्य मुलुकले यति ठूलो शुल्क लिएर पर्यटकलाई निरुत्साहित पार्ने हो भने कुन पर्यटक यहाँ आउन इच्छुक होला ? कुनै समय थियो ‘पर्यटक भनेका सुनका फुल पार्ने कुखुरा हुन’ भनिन्थ्यो । अब त्यो मान्यता हराइसकेको छ । सबै पर्यटकसँग छेलोखेलो पैसा नहुन सक्छ । उनीहरू पदयात्राका लागि मात्रै पनि आउन सक्छन् अथवा जंगल सफारी गर्न मात्रै पनि आउन सक्छन् । हिजोआज त पश्चिमी पर्यटकका बारेमा नेपाली होटल व्यवसायीको धारणा फेरिइसकेको छ । उनीहरूको भुक्तभोगाइले भन्छ( ‘हामीलाई विदेशी पर्यटकभन्दा स्वदेशी पर्यटक फाइदाजनक छ, विदेशीले बिस्कुट र कफी खाएर २०० रुपैयाँ तिर्छन् जबकि नेपालीले रक्सी( बियर, मासु, भात र नास्ता समेत गर्छ र एउटैले २ हजार खर्च गर्छ । यो भनाइमा सत्यता छ । किनकि, हामी खानाका काल हौं र उनीहरू अनुभवका पारखी । एयरपोर्टमै भिसा दिने प्रणाली अपनाएर पर्यटकलाई नेपालले जुन रूपमा आकर्षित गर्न खोजेको छ, त्यति मात्रै पर्याप्त छैन, उनीहरूलाई सहजता, हार्दिकता र सुविधाको आभाष दिलाउनु महत्तपूर्ण छ, अन्यथा पर्यटन वर्ष कुनै अल्छीले देखेको सपनाबाहेक अरु केही हुने छैन ।