ऋण लिएर रेल नबनाउन कांग्रेसको प्रधानमन्त्रीलाई सुझाव

ऋण लिएर रेल नबनाउन कांग्रेसको प्रधानमन्त्रीलाई सुझाव

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका विषयमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विज्ञहरुसँग छलफल गरेका छन् ।
प्रमुख विपक्षी नेपाली कांग्रेसले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणमा ऋण लिएर रेल बनाउने एजेण्डालाई प्राथमिकता नदिन छलफलका क्रममा सरकारलाई आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुले ऋण लिएर रेल बनाउन नहुने बताएका हुन् । काठमाडौं केरुङ रेलमार्ग अनुदानमा बनाइदिन आग्रह गर्नुपर्ने कांग्रेसले बताएको छ ।
सहुलियतपूर्ण ऋणमा पनि विश्व बैंक, एसियाली विकास बैंकहरुले जस्तै १० प्रतिशतभन्दा कम ब्याज र ४०÷५० वर्षसम्म तिर्दा हुने गरी समयावधी राय कांग्रेसले राखेको छ ।
सहुलियतपूर्ण ऋणमा सडक कनेक्टिभिटीलाई प्राथमिकता दिनुपर्ने कांग्रेसले बताएको छ । रसुवागढी काठमाडौंमा सुरुङमार्गसहित सडक विस्तार गर्ने तथा चीनसँग जोड्ने अरु नाकाहरुलाई पनि सडकले जोड्नुपर्नेे छ ।
कांग्रेसले ब्यापार घाटा कम गर्न नेपालमा चिनियाँ लगानी बढाउनुपर्ने र नेपालबाट निर्यात हुने वस्तुहरुमा शून्य भन्सारका लागि पहल गर्न सरकारलाई सुझाव दिएको छ ।
भट्टराईको पनि सन्तुलन मिलाउन सुझाब
त्यस्तै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनबाट रेल ल्याउदा ऋणको जालमा नफस्न सरकारलाई सुुझाव दिएका छन् । भट्टराईले रेलमार्ग बनाउँदा अनुदान र ऋणको सन्तुलन मिलाउन सुझाव दिएका हुन् । चीनसँग रेल भन्दा सडक निर्माणमा जोड दिनुपर्ने बताए ।
चीन, भारत र अमेरिकासँग समानान्तर सम्बन्ध राख्ने, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) र इन्डो प्यासिफिक रणनीति दुबैबाट लाभ लिने, नेपाललाई भारत र चीनबीचको आर्थिक सेतुको रुपमा विकास गर्न सुझाव दिएका छन् । त्यस्तै
सीको नेपाल भ्रमणका क्रममा कर्णाली, गण्डकी र कोशी करिडोरलाई प्राथमिकता दिने, ऋण र अनुदान भन्दा औद्योगिक लगानी, व्यापार र पर्यटनमा जोड दिने, चीनसँग मात्र तत्काल सुपुर्दगी सन्धी नगर्न सुझाव दिएका छन् ।
भट्टराईले सीको नेपाल भ्रमणका क्रममा लिपुलेकको त्रिदेशीय ब्यापार मार्गमा भारत र चीनले मात्र सम्झौता गरेकोमा त्यसलाई सच्याएर नेपाल पनि जोडिनुपर्ने सुझाब प्रधानमान्त्री ओलीलाई दिनु भएको छ ।