नेपाली फूलले नै तिहार धान्दै भारतबाट न्यून आयात गरे पुग्ने

नेपाली फूलले नै तिहार धान्दै भारतबाट न्यून आयात गरे पुग्ने

कार्तिक ३, काठमाडौं– विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा विदेशबाट ल्याइने फूलको सङख्यामा कमी आउने भएको छ । फूलको व्यावसायिक खेती गर्नेको सङख्या बढेको र यस वर्ष ठिक समयमानै तिहार पर्व परेकाले आयात गरिने फूलको सङख्यामा कमी आउने भएको हो । तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्था छ ।
मागअनुसार सयपत्री, गोदावरी र मखमली फूलको माला उपलब्ध भएकाले मूल्यमा खासै असर नपर्ने व्यवसायीको भनाइ छ । सयपत्री फूलको माला (एक मिटर) ७० रुपैयाँसम्म र मखमलीको माला ५० रुपैयाँसम्म उपलब्ध हुने व्यवसायी बताउँछन् । गोदावरी फूलको माला भने प्रतिगोटा २ सय ५० रुपैयाँभन्दा बढी पर्नेछ । गत वर्ष १७ लाख माला खपत भएको थियो । सोमध्ये २० प्रतिशत भारतबाट ल्याइएको हो भने बाँकी स्वदेशी उत्पादन हो । तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउनुपर्ने अवस्था छ । तर यो बर्ष पनि माला कम मात्र आयात हुने सम्भावना रहेको ब्यावसायी बताउँछन् ।
विगत केही वर्षयता मखमली फूलको माला विदेशमा निर्यात हुन थालेको छ । चाँडै नओइलाउने, तुलनात्मक रूपमा सस्तो र ढुवानी गर्न सजिलो हुने भएकाले मखमलीको माला विदेशमा रहेका नेपालीमाझ लोकप्रिय भइरहेको व्यवसायीको भनाइ छ । मखमली फूल वा माला धेरै मात्रामा अष्ट्रेलिया जाने गरेको छ । त्यसपछि जापान, बेलायत, क्यानडा, अमेरिकालगायत खाडी मुलुकमा समेत माग छ । गत वर्ष भारतबाट ३० लाख रुपैयाँ बराबरको तीन लाख सयपत्री फूलको माला ल्याइएको थियो । यस वर्षको तिहारका लागि कति फूल ल्याउने भन्ने विषय यकिन नभए पनि खपत हुने फूलको बढीमा सात प्रतिशत मात्रै फूल ल्याइने फ्लोरीकल्चर एशोसिएशनले जनाएको छ ।
यस वर्ष पनि गत वर्षकै हाराहारीमा फूलको माला खपत हुने एशोसिएशनको अनुमान छ । व्यावसायिकरूपमा फूल खेती गर्नेको सङख्या बढेकाले हरेक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरेको छ । फूल उत्पादनको वृद्धिसँगै उपभोक्ताको माग पनि बढेको छ । यस वर्ष उपभोक्ताले एउटा सयपत्री मालाको मूल्य ६० देखि ७० रुपैयाँ सम्म बढी तिर्नुपर्ने देखिन्छ । स्वदेश र विदेशमा गरी वार्षिकरूपमा एक अर्ब ८५ करोड रुपैयाँको फूलको कारोवार हुँदा तिहारमा मात्रै रु एक करोड फूलको कारोवार हुन्छ । तिहार आउनुभन्दा एक साता अघिबाट मात्रै आयातित फूल ल्याउन शुरु गरिन्छ । विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । व्यावसायिक रूपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । यस व्यवसायबाट ४२ हजारभन्दा बढी व्यक्ति समेल छन् । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको व्यावसायिक खेती गर्दै आएका छन् ।
चाडबाड र अन्य समयमा पनि काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ६० प्रतिशत माला खपत भएको छ । तिहार र अन्य मौसममा गरी ११ करोड रुपैयाँ बराबरको फूल वर्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ । मुख्यगरी कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको छ ।