May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

दुईवटा कुकुरलगाएर महिलालाई बलात्कार

दुईवटा कुकुरलगाएर महिलालाई बलात्कार

कार्तिक ६ ,  दाङ

‘मेरो जीउडाल मिलेको छ र म अनुहारले राम्री पनि देखिन्छु,’ वेदनाले भरिएको आवाजले हल गुन्जियो,‘तर मभित्रको पीडा अर्कै छ, त्यो देख्ने कोही छैन ।’

हल मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाजका अगुवा र सशस्त्र द्वन्द्वका पीडितले भरिभराउ थियो । दाङको घोराहीमा सोमबार दिउँसो ‘द्वन्द्वपीडित साझा चौतारी’ले आयोजना गरेको भेलामा आफ्नो पीडा सुनाउँदै थिइन्–सशस्त्र द्वन्द्वकालमा यौं हिंसामा परेकी एक युवती ।

गोपनीयता भंग नहोस् भनेर उनी हलमा देखा परेकी थिइनन् । न त उनको पहिचान नै खुलाइएको थियो । आवाज भने सिधा हलमा सुनिने व्यवस्था मिलाइएको थियो । जसै उनी बोल्दै गइन्, हलमा सन्नाटा छाउँदै गयो । सुन्नेहरुका आँखा रसाउँदै गए ।

उनी भनिरहेकी थिइन, ‘म कोठामा बसेर बोल्नुपर्ने कारण छ । म न आकाशमा उड्न सक्छु न धर्तीमा हिंड्न । मजस्तै अरु पनि धेरै दिदीबहिनीको इज्जत लुटिएको छ । तर उनीहरु खुल्न र भन्न सकिरहेका छैनन् । म भने बोल्छु । किनभने मान्छेहले जानुन् के भएको थियो नेपालका महिलामाथि ।’

बर्दियामा जन्मेहुर्केकी यी युवती १८ वर्षकी छँदा २०५७ सालमा तत्कालिन विद्रोही माओवादीमा लागेकी थिइन । घरमा माओवादीलाई खुवाएको र सुताएको निहुँमा सेनाले उनका बुवालाई पक्राउ गरेको थियो ।
रातिराति खानतलासी गर्न आएर हैरान पारेपछि पक्राउ पर्ने डरलेउनी पनि माओवादीमा लागिन् । नाचगान गर्दै जनताको शासन ल्याउनुपर्छ भन्ने सन्देश दिने गीत गाउँदै उनी सांस्कृतिक टोलीका साथ गाउँगाउँमा हिँडिन । त्यही क्रममा २०५८ मंसिरमा एक रात सुतेकै ठाउँबाट पक्राउ परिन् ।

‘अरु साथी भाग्न भ्यए, हामी चार दिदीबहिनी फुत्किनै पाएनौं,’ उनले सुनाइन्, ‘सैनिकहरुले लछार्दै हामीलाई घरबाट निकाले । नाँच्दा लगाएको गुन्युचोलीमाथि बेरेको पटुकी च्यातेर हाम्रा आँखामा पट्टी बाँधे र पाता पर्काए ।’ त्यसपछि जे भयो, त्यो सुन्दा हल पूरै स्तब्ध थियो ।

‘ती सैनिकले हामीलाई पिट्दै र लछारपछार पार्दै घरभन्दा पर जंगल छेउको खेतमा लगेर निर्वस्त्र बनाए । अरु बहिनीहरु मभन्दा साना थिए,’ उनले रुँदै कारुणिक बयान गरिन्,‘नांगै बनाएर ममाथि दुईवटा कुकुर छाडिए । अनि मेरो इज्जत कुकुरबाट लुट्न लगाए ।’

कल्पनामा समेत नभएको यातना आइलाग्दा आफू मरेतुल्य हुनुपरेको उनले सुनाइन् । ‘अचेल म बाटामा कुकुर देख्दा बहुलाइजस्तो हुन्छु । डरले काँप्छु,’ उनले भनिन् ।

उनले सैनिकहरूबाट आफूमाथि अरू पनि धेरै पाशविक व्यवहार भएको सुनाइन् । ‘त्यसको वर्णन जति गरे पनि सकिँदैन,’ उनले भनिन्, ‘कुकुरबाट इज्जत लुटाएपछि ती सैनिकले हामीलाई चिसापानी ब्यारेकमा लगे । दुई दिनसम्म पानी पनि दिएनन् । कुटपिट र बलात्कारका कारण कपडामै दिसा चुहिएको थियो । हिरासतमा उनीहरूले आफ्नै हातले दिसा सोहोर्न लगाए । पछि धुनै नदिई त्यही हातले भात खान लगाए ।’

ब्यारेकमा रजस्वला भएपछि आफ्नो झोलामा भएको कपडाको टालो माग्दा बन्दुकको नाल पुछ्दा तेलैतेल लागेको कालो र मैलो कपडाले गुप्तांग छोप्न लगाएको पनि उनले सुनाइन् । ‘केही दिनपछि पनि उनीहरूले ममाथि नराम्रो व्यवहार गरे,’ उनले भनिन्, ‘आज म बाँचेर पनि जिउँदो लासझैं भएकी छु । मान्छे भएर पाउनुपर्ने मेरा सारा सम्मान हरण भएका छन् ।’

त्यसको पाँच वर्षपछि मात्रै आफूले केही उपचार गर्न पाएको उनले बताइन् । ‘मेरो पाठेघर च्यातिएको छ, डाक्टरले बच्चा नपाउनु नै जाती हुन्छ भनेका थिए,’ उनले सुनाइन्, ‘तर हामी श्रीमान्–श्रीमतीले जति दु:ख सहनुपरे पनि बच्चा पाउने निर्णय गर्‍यौं । मेरो छोराको आँखामा जन्मिँदै मासुको डल्लो पलाएको छ । यो पीडा म मनमा कति मात्रै राखिरहुँ ?’

यातनाको नयाँ ढाँचा विज्ञहरूले ती युवतीमाथि कुकुरद्वारा बलात्कार गराइएको भन्ने बयान सही हो भने यसले सशस्त्र द्वन्द्वकालमा भएको यातनाको नयाँ ढाँचालाई उजागर गरेको टिप्पणी गरेका छन् । ‘धेरै पहिले ल्याटिन अमेरिकामा शत्रु पक्षका युवतीलाई कब्जामा लिएर बलात्कारका लागि तालिम गराइएका कुकुरहरू प्रयोग गरिन्थे,’ फरेन्सिक विशेषज्ञ डा. हरिहर वस्तीले भने, ‘नेपालमा यस्तो सुनेको थिइनँ । साँचो हो भने यो गम्भीर अपराध हो । यसको अनुसन्धान हुनुपर्छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा घनश्याम खड्काले लेखेका छन् ।