June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

बालुवा, गिटी ढुवानीमा एकै ट्रकबाट १५ क्युफिटसम्म ठगी उपत्यकाका तीनै जिल्लाबाट ठगीका ट्रक नियन्त्रणमा

बालुवा, गिटी ढुवानीमा एकै ट्रकबाट १५ क्युफिटसम्म ठगी उपत्यकाका तीनै जिल्लाबाट ठगीका ट्रक नियन्त्रणमा

१३ कार्तिक , काठमाडौं –
मिनी ट्रकमा फलाम र काठको फ्रेम बनाई एक ट्रिपमा कम्तीमा १५ क्युफिट कम निर्माण सामग्री ढुवानी हुने गरेको पाइएको छ  । बालुवा, रोडा, गिट्टी ढुवानी गर्दा सञ्चालकले बढी फाइदा लिन ट्रकको स्वरुप नै परिवर्तन गरेर उपभोक्तालाई ठगी गरिरहेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

सवारीसाधनको ढाला काट्ने र सामान राख्ने सतहमा ५ इन्चसम्म काठ र फलामको फ्रेम राखेर कम सामान अट्ने गरी स्वरूप परिवर्तन गरिएको थियो । डिपो सञ्चालकले काठ, फलामको रेडिमेड तथा फिक्स बक्स बनाएर उपभोक्तालाई ठगी गरेको पाइए पनि उजुरी नपरेकाले कारबाही गर्न प्रहरीले अरू प्रमाण जुटाइरहेको छ ।

स्वरूप बिगारेको ट्रकबाट उपभोक्ता एक ट्रिपमा न्यूनतम १५ क्युफिट ठगिने गरेको जानकारी यातायात व्यवस्था कार्यालयले प्रहरीलाई उपलब्ध गराएको हो ।
वास्तविक ढालाभन्दा थप उचाल्न फलाम, काठ र ढलान गर्ने ट्रकलाई उपत्यकाको तीनै जिल्लाबाट नियन्त्रणमा लिएको प्रहरी कार्यालयले जनाएको छन् ।

कम्पनीले बनाएको स्वरूप बदलेर निर्माण सामग्रीमा ठगी गरेको आरोपमा नियन्त्रणमा लिएका ३४ मिनी ट्रकका सञ्चालकलाई कारबाही गर्न थप प्रमाणका लागि प्रहरीले यातायात कार्यालयसँग जानकारी माग गरेको थियो । कार्यालयले यस्ता ट्रकबाट औसतमा १५ क्युफिट निर्माण सामग्री कम हुने गरेको छ ।

काठमाडौं प्रहरीले नियन्त्रणमा लिएका ट्रक

अपराध अनुसन्धान महाशाखाका अनुसार एक ट्रक निर्माण सामग्री ढुवानी गर्दा उपभोक्ता २ हजार २ सय रुपैयाँसम्म ठगिने गरेका छन्  ।
अपराध अनुसन्धान महाशाखाले निर्माण सामग्री सप्लायर्सका सञ्चालकलाई ठगी मुद्दामा कारबाही गर्न प्रमाण जुटाइरहेको छ । महाशाखाले २३ जनालाई नियन्त्रणमा लिएर ठगी मुद्दा चलाएको छ । नापतौल तथा गुणस्तर विभागको प्राविधिक टोलीले ट्रकको उचाइ, चौडाइलगायतको प्रतिवेदन दिन अध्ययन गरिरहेको छ ।

त्यस्तै यातायात व्यवस्था कार्यालयलाई ट्रकको वास्तविक मापदण्ड, स्वरूप परिवर्तन र ट्रक धनीलगायतको जानकारी माग गरिएको महाशाखाले जनाएको छ । मिनी ट्रकको ढाला काट्ने, फलाम, काठको फ्रेम राखेर स्वरूप बदल्दै उपभोक्ता ठग्ने २३ जनालाई नियन्त्रणमा लिएर प्रहरीले काठमाडौंमा ठगी मुद्दा चलाइसकेको छ । भक्तपुर र ललितपुरले भने ट्रक नियन्त्रणमा लिए पनि डिपो र गाडी सञ्चालकलाई नियन्त्रणमा लिएको छैन ।