April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

भारतको नयाँ नक्सामा, नेपालको कालापानी आफ्नोमा पारेपछि विवाद सतहमा

भारतको नयाँ नक्सामा, नेपालको कालापानी आफ्नोमा पारेपछि विवाद सतहमा

१९ कात्तिक २०७६ काठमाडौं । भारत सरकारले शनिबार नयाँ राजनीतिक नक्सा जारी गरेसँगै नेपाल–भारतबीच रहेको सीमा विवादको विषय फेरि सतहमा आएको छ । भारतले जारी गरेको नयाँ नक्सामा नेपाल, भारत र चीनको त्रिदेशीय विन्दुमा अवस्थित कालापानी क्षेत्रलाई भारतीय भूभागको रुपमा समावेश गरेपछि त्यस विषयमा बहस सुरु भएको हो ।
भारतले जारी गरेको नयाँ नक्सामा जम्मु तथा कस्मिर दुई फरक प्रशासनिक क्षेत्रमा विभाजन गरेको छ । यो नक्सालाई पाकिस्तानले मान्न अस्वीकार गरेको छ ।
सन् १९६२ मा भारत–चीन युद्धको समयमा कालापानीमा भारतले सैनिक ब्यारेक निर्माण गरेको थियो। भारतीय पक्षले कृत्रिम नदी निर्माण गरेको छ । भारत त्यसैलाई काली नदीको उत्पत्तिस्थल दाबी गर्छ र कालापानी नियन्त्रणमा राखेको छ । तर, नेपालले कालापानी आफ्नो भूभाग भएको बताउँदै आएको छ ।

यस विषयमा आफ्नो धारणा के हो सरकारले स्पष्टसँग राख्नु पर्छ । भारत सरकारको पछिल्लो कदम मानचित्रमाथिको आक्रमण (क्यास्टोग्राफिक एग्रेसन) हो । यस विषयमा नापी विभागले पनि अध्ययन सुरु गरेको छ । भारतले जम्मु तथा कश्मीरलाई दिँदै आएको विषेश राज्यको मान्यता खारेज गरेर नयाँ राजनीतिक संरचना निर्माण गरेपछि शनिबार नयाँ नक्सा जारी गरेको हो । जसमा भारतले नेपालसँग विवादित क्षेत्र कालापानीलाई आफ्नो भनेको छ ।


यसअघि भारत र चीनबीच सन् २०१४ लिपुलेक हुँदै व्यापारिक मार्ग खोल्ने विषयमा भएको सहमतिको नेपालले विरोध गरेको थियो। नेपालले सन् १८१६ भएको सुगौधी सन्धि विपरित भन्दै आपत्ति जनाएको छ। नेपालको विषयमा नेपाल सहभागी नभएको बैठकमा छलफल भएको प्रति पनि नेपालको आपत्ति रहेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्वपरराष्ट्रमन्त्री कमल थापाले भारतले जारी गरेको नयाँ नक्सा आपत्तिजनक र अस्वीकार्य भएको भन्दै त्यसमा आपत्ति जनाउन प्रधानमन्त्रीलाई आह्वान गरेको छन् ।

भारत सरकारले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि भारतमा समेटिएको भन्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले बिरोध जनाएको छ । भारतले सार्वजनिक गरेको नक्सामा नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा भारततर्फ परेको बताइएको छ ।

जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘भारत सरकारमा बेलायती उपनिवेशवादको धङधङी कायम नै छ । नेपाली जनता भारतीय विस्तारवाद र एकाधिकार पुँजीको लगारता बिरोध गर्दैछन् ।’

भारत सरकारले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक लिम्पियाधुरा भारतमा समेटिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ । ती भूभाग भारतले अनधिकृत रुपमा कब्जा गरेकोमा नेपालले विगतदेखि निरन्तर विरोध गर्दै आएको भन्दै राप्रपाले आफ्नो भूभागको रक्षा गर्न र राष्ट्रियता जस्तो संवेदनशील विषयमा गम्भीर बन्न सरकारसंग माग गरेको छ ।