May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

प्रधानसेनापतिको प्रस्ताब अर्थद्धारा अस्वीकृत

प्रधानसेनापतिको प्रस्ताब अर्थद्धारा अस्वीकृत

काठमाडौं । हाल कायम रहेको २० बर्षे पेन्सन अवधि घटाएर १६ बर्षेमा बनाउँनु पर्ने माग राख्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले राखेको प्रस्ताव अर्थमन्त्रालयले अस्वीकृत गरिदिएको छ । तल्लो दर्जामा काम गर्ने जवानहरुको पीडालाई लक्षित गर्दै प्रधानसेनापति थापाले रक्षा मन्त्रालयलाई समय घटाउने पत्र लेख्नु भएको थियो । सेनापती थापाले मन्त्रालयलाई पठाएको पत्रमा ‘नेपाली सेनाको सांगठानिक संरचना र व्यवस्थापनलाई सन्तुलित र थप प्रभावकारी बनाउन सेनाको कामको प्रकृति र मुलुकको भौगोलिक बनोटले गर्दा बढी शारीरिक तन्दुरुस्ती चाहिने हुँदा युवा जनशक्ति पुर्ताल गर्न निवृतिभरण अवधि पुनरावलोकन गर्नु जरुरी रहेको भन्दै समय घटाउन माग गर्नु भएको थियो । तर, उक्त प्रस्ताव अगाडी बढाउँन अर्थ मन्त्रालयले अस्वीकार गरेको हो । सेनापतिको पत्रका सम्बन्धमा रक्षा मन्त्रालयले परामर्श र रायका लागि भन्दै अर्थलाई पत्र लेखेको थियो । अर्थ मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट सैनिक सेवा नियमावलीको नियम ८० को संशोेधन मस्यौदा सम्बन्धी सेनाको प्रस्ताव अस्वीकृत भएको जनाएको छ । अर्थ मन्त्रालयले नेपाल सरकारको पेन्सनको दायित्व बढ्दै गएको र अन्य सरकारी सेवामा रहेको अवकाश र पेन्सन सम्बन्धी व्यवस्थामा एकरुपता कायम गर्न पेन्सन घटाउने प्रस्तावमा सहमत हुन नसक्ने जवाफ पठाएको हो । ‘प्रधानसेनापति रोलकल’ कार्यक्रममा तल्लो तहका सैनिकको सबैभन्दा धेरै गुनासो पेन्सन अवधि १६ वर्ष बनाउन माग भएपछि सेनाले सोहीअनुसार ऐन संशोधनका लागि रक्षा मन्त्रालयलाई पत्राचार गरेको थियो ।