June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

वरिष्ठ कलाकार मानन्धरलाई “नवीन कलाश्री पुरस्कार”

वरिष्ठ कलाकार मानन्धरलाई “नवीन कलाश्री पुरस्कार”

२ मंसिर, २०७६, काठमाडौं । नेपाली चित्रकलाको उन्नयनमा अतुलनीय योगदान दिएवापत मूर्धन्य कलासर्जक किरण मानन्धरलाई ‘नवीन कलाश्री पुरस्कार’ अर्पण गरिएको छ ।

पोखराका वरिष्ठ चित्रकला सर्जक क्षेत्रलाल कायस्थले स्थापना गरेको ‘कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठान’ द्वारा स्थापित सो पुरस्कारको राशि ताम्रपत्रसहित रु ५० हजार नगद रहेको छ । प्रतिष्ठानद्वारा हिजो आइतबार आयोजित कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले विसं २०७६ को सो पुरस्कार सर्जक मानन्धरलाई अर्पण गरेका हुन् ।

मानन्धरलाई प्रकृतिका अनुपम छटा, मानवीय संवेदना र जीवन जगतका आयमलाई सूक्ष्मरूपमा चित्रकलमा उतार्न खप्पिस कलाकारको रुपमा लिइन्छ । करिब पाँचदशकदेखि अविछिन्न रूपमा विभिन्न रङमा पोख्त सर्जक मानन्धरले कला सिर्जना गरिरहेका छन् । उनले सिर्जना गरेका कलाका विविध सौन्दर्यले नेपाली कलालाई अन्तर्रा्ष्ट्रिय जगतमा उत्कृष्ट चिनारी दिइराखेको छ ।

समुद्रको तटदेखि हिमालपारिसम्मको चित्रकला समेटेका कलाकार कायस्थका कला स्वदेश र विदेशमा गरी हालसम्म १२ औँ पटक प्रदर्शनी भइसकेका छन् ।