June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

नक्कली बिजक बनाउनेको पोल खुल्दै

नक्कली बिजक बनाउनेको पोल खुल्दै

०३ मंसिर २०७६ काठमाडौं
नक्कली बिल बिजक बनाएर राजस्व छली गर्ने समहुको गिरोह पछिल्लो समय बजारमा देखिन थालेको छ । यसरी बिल विजक प्रयोग गर्नेलाई कर कार्यालयले खोजी तीब्र पारेको छ । राजस्व अनुसन्धान विभागले आक्रामक तरिकाले अनुसन्धान गर्ने क्रममा २ वटा फर्म र ३ जना व्यक्ति विरुद्ध नक्कली बिल प्रयोग गरी राजस्व छलेको पत्र लगाउँद अदालतमा मुदा दायर गरेको छ । उनीहरुले १ करोड ७४ लाख २१ हजार कर छली गरेको आरोप छ । अम्बेल इन्टरप्राइजेजका प्रोपाइटर विनिता दुवाडीले १ करोड २८ लाख ७६ हजार राजस्व छली गरेको खुलेको छ । गोरखा हंसपुर गाविसको स्थायी बासिन्दा दुवाडीले नक्कली मूल्य अभिबृद्धिकर मात्र खरिद गरी राजस्व चुहावट गरेको देखिएको छ । यता झापाको साकम्बरी प्रोडक्टका प्रोपाइटर सहित ५ जनालाई राजस्व चुहावटको आरोपमा जिल्ला अदालत झापामा मुद्दा दायर गरिएको छ । साकम्बरी प्रोडक्टले उत्पादन गरेको गुट्खाजन्य वस्तुहरु योजनाबद्ध रुपमा माधव इन्टरप्राइजेज समेतको सहभागीमा अन्तशुल्क स्टिकर नलगाई बिक्रि वित्तरण गरी राजस्व छली गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

साकम्बरीका प्रोपाइटर मुकेश शर्मा, सुपरभाइजर विष्णु प्रसाद खरेल, एसएस इन्टरप्राइजेजका प्रोपाइटर रामकृष्ण शर्मा, सुपरभाइजर सदन सिंह तथा माधव इन्टरप्राइजेजका सिताराम शर्मा र सावारीधनी आशिष शर्माको मिलेमतोमा राजस्व छली गरेको आरोप छ । उनीहरुले ३६ करोड ५५ लाख ६३ हजार ३ सय ३७ रुपैयाँ राजस्व छली गरेको भन्दै जिल्ला अदालतमा मुद्दा दायर भएको हो । यता सुसज्जित इन्टरप्राइजेजका प्रोपाइटर सरस्वती गौतम र उनका श्रीमान रामशरण गौतमलाई झुट्टा विजक खरिद गरेर ४५ लाख ४५ हजार राजस्व छली गरेको भन्दै काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । उनीहरु विरुद्ध विगोको दोब्बर जरिवाना र ३ वर्ष कैद सजायको माग सहित अदालतमा मुद्दा दायर भएको हो ।