May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

कारागारबाट समेत धम्की

कारागारबाट समेत धम्की

०३ मंसिर २०७६, काठमाडौँ  । कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा रहेका पूर्वमन्त्री तथा कांग्रेस सांसद मोहम्मद आफताब आलमले रौतहट कारागार जान चलखेल थालेका छन् । आफूलाई जबर्जस्ती नख्खु कारागार ल्याइएको भन्दै आलमले रौतहट स्थानान्तरणका लागि कांग्रेस नेता रामचन्द्र गिरीलाई परिचालन गरेका छन् ।

गिरीले आइतबार दिउँसो नख्खु कारागार पुगेर आलमसँग भेट गरेका थिए । भेटपछि आलमले कारागार स्थानान्तरणका लागि हिन्दीमा लेखेको मागपत्र कारागार प्रशासनलाई बुझाएका छन् । उक्त मागपत्र कारागार प्रशासनले कारागार व्यवस्थापन विभागमा पठाएको छ ।

स्थानान्तरणका लागि आलमको माग आफ्ना समर्थक भड्काएर मुद्दा प्रभावित बनाउने खेलअनुसार आएको हुन सक्ने सुरक्षा निकायको विश्लेषण छ । मागपत्रमा रौतहटका प्रहरीप्रति टिप्पणी गर्दै आलमले उनीहरूलाई राम्रो नहुने चेतावनी दिएका छन् । वो एसपी (भूपेन्द्र खत्री, रौतहट) ने मेरे साथ गलत किया, उसका भी बुरा होगा,’ आलमले लेखेका छन् ।

प्रहरीले आलमलाई भेट्न आउनेमाथि विशेष निगरानी राखेको छ । नख्खु कारागार आफ्ना लागि सहज नभएको उल्लेख गर्दै आलमले आफन्त र नातेदारबाहेक अरूलाई भेट्न नदिइएकोप्रति पनि असन्तुष्टि जनाएका छन् । ‘मेरा सारा दोस्त मेरा रिस्तेदार है,’ उनले लेखेका छन्, ‘यहाँ (रौतहट) सुरक्षा दिन सकिँदैन भनेर रातारात कारागार स्थानान्तरण (नख्खु) गरियो, सुरक्षा दिने काम प्रशासनको हो न कि स्थानान्तरण ।’ असोज २६ मा पक्राउ गर्न गएका प्रहरीलाई समेत दुर्व्यवहार गरेका आलमले एसपी खत्री र डीएसपी नवीन कार्कीलाई हत्कडी लगाउने र जिल्ला अशान्त पार्ने धम्की दिएका थिए । त्यस क्रममा आलमले आफूलाई पक्राउ गरिएको प्रतिशोधमा जिल्ला अशान्त पार्ने र त्यसको जिम्मेवारी प्रहरीले नै लिनुपर्ने बताएका थिए । आजको कान्तिपुर दैनिक बाट लिइएको ।