जापानी गीत बजेपछि फोहोर लिएर सडकमा

जापानी गीत बजेपछि फोहोर लिएर सडकमा

०६ मंसिर, २०७६ काठमाण्डौ । घरबाहिर कसैले सिटी बजाउनेबित्तिकै फोहोरको गाडी आयो भन्ने संकेत गर्छ । सिटी बजेपछि हतारिँदै केहीले फोहोर लगेर बाहिर थुपार्छन्, केहीले आफैं गाडीमा फ्याँक्छन् । मध्यपुर थिमि नगरपालिकाको भित्री बस्तीमा भने फोहोर लिन जाँदा न गाडीको हर्न बजाइन्छ न त फोहोर उठाउनेले सिटी नै फुक्छन् ।

मध्यपुरथिमि नगरपालिकामा कुहिने फोहोर गाडीमा राख्दै गृहिणी र नगरबाट संकलित फोहोरलाई मल बनाउन तापक्रम नापिँदै । तस्बिर स् मकर श्रेष्ठरकान्तिपुर

हरेक मंगलबार बिहान जापानी गीत घन्काउँदै दुईवटा गाडी बस्ती छिर्छन् । सानो गाडी अघि, टिपर पछिपछि । अघिल्लो गाडीमा राखेको साउन्ड बक्सबाट जापानी गीत बज्नेबित्तिकै टोलवासी सबै काम छाडेर बाल्टीको फोहोर बोकेर सडकमा निस्कन्छन् । हरियो रङको सानो गाडीमा बाल्टीको कुहिने फोहर फ्याँक्छन् अनि बोरा र कार्टुनमा राखिएको नकुहिने फोहोर पछिल्लो टिपरमा हाल्छन् ।

मध्यपुर थिमि ४ की कमला श्रेष्ठ डेढ वर्षदेखि घरबाट निस्कने फोहोर व्यवस्थापन गर्दै आइरहेकी छिन् । ‘कुहिने फोहोर नगरपालिकाले दिएको बाल्टीमा र नकुहिने फोहोर अर्को गाडीमा हाल्छौं,’ उनले भनिन् । घरको फोहोर लगेबापत मासिक शुल्क तिर्नुपर्ने झन्झट पनि छैन । कुहिने फोहोर हाल्ने बाल्टी लिन सुरुमा हरेक घरधनीले पाँच सय ५० रुपैयाँ तिरे । ‘त्यसयता कुनै महिना फोहोर उठाएबापतको भन्दै छुट्टै शुल्क तिर्नुपरेको छैन,’ कमलाले भनिन् ।

नगरपालिकाले प्रत्येक साता कुहिने फोहोर उठाउने गरेको छ । नकुहिने फोहोर भने दुई सातामा एकपटक उठाइन्छ । कुहिने फोहोर उठाउँदा घरधनीलाई धानको भुस, ढुटो, पत्कर, रातो माटो मिसाएर बोरामा दिइन्छ । यसलाई जापानी भाषामा ‘तोकाजाई’ भनिन्छ । यी सबै वस्तु मिसाएर दुई सातासम्म बाक्लो कार्पेटले छोपेर गुम्स्याउँछन् । १० देखि १४ दिनसम्म तापक्रम मिलाएर बोरामा राखेपछि मात्रै नगरवासीको घरमा पठाउने गरिन्छ । प्राविधिकका अनुसार भुसमा कार्बन, ढुटोमा नाइट्रोजन, पातपतिंगर ब्याक्टेरिया र रातो माटोमा मिनरल पाइन्छ ।
आजको कान्तिपुरबाट साभार ।