गहुँलाई मल पनि नदिने भारतबाट ल्याउँदा पनि पक्रने

गहुँलाई मल पनि नदिने भारतबाट ल्याउँदा पनि पक्रने

आइतवार ०८, मंसिर २०७६ , काठमाडौं । बार्दिया जिल्लाका किसानलाई गहुँ मलको अभाव खट्किदा गहुँ छर्न नै समस्या पर्ने गरेको छ । समस्या बढ्दै जाँदा गहँु रोपेका किसान पनि मल लिनको लागि भारतीय बजार जानुपर्ने बाध्यता छ ।

नेपाली बजारमा कात्तिकको पहिलो सातादेखि मल सकिएको भएपनि तीन साता वित्दा पनि सरकारका कुनै निकायले मल दिएको छैन् । यस्ले बर्दियाका किसानलाई पिरोल्दै गएको छ । गाउँका सहकारीले मल नदिने बर्दिया सीमावर्ती बलैगाउँ बजार आसपासबाट ल्याउँदा सिमा प्रहरीले पक्राउ गर्ने दोहोरो मारमा यहाँका किसान परेका छन् ।
कृषि सामग्री संस्थान कम्पनी लिमिटेड बर्दियाका अनुसार जिल्लाका लागि कम्तीमा युरिया १२ हजार टन, डीएपी १० हजार टन र पोटास चार सय टन आवश्यक पर्छ । मागअनुसारको मल जिल्ला कृषि कार्यालयले उपलब्ध गराउन सकेको छैन ।

रोपाइँका समयमा बर्दियामा ७५ सय टन मल बिक्री भएको थियो । बर्दियाका लागि भैरहवाबाट मल ल्याउने गरिएको छ । कृषि सामग्री संस्थानले प्रतिबोरा युरिया ८ सय १, डिएपी २ हजार २ सय ५१ र पोटास १ हजार ४ सय ४५ रुपैयाँ मूल्य तोकेको छ । बर्दियाका ९५ सहकारीले मल बिक्री गर्ने अनुमति पाएका छन् ।