साग खेलकुदः भलिबलमा नेपाल र बंगलादेश भिड्दै

साग खेलकुदः भलिबलमा नेपाल र बंगलादेश भिड्दै

११ मंसिर, २०७६, काठमाण्डौ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा आजदेखि भलिबल खेल शुरु हुँदै छ । सागको औपचारिक उद्घघाटन १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भए पनि भलिबल खेल भने आजदेखि नै शुरु हुने भएको हो ।
नेपालको पुरुष र महिला टिमले आजै समूह चरणको आफ्नो पहिलो खेल बंगलादेशविरुद्व खेल्दैछन् ।
सागमा नेपालसहित सातवटा देशले भाग लिँदै छन् । तर भलिबलमा ६ देशले मात्र भाग लिएका छन्।
आज बुधबार दिउँसो तीन बजे सागको भलिबलतर्फको महिलाको उद्घघाटन खेल हुने छ । जसमा सागमा स्वर्ण जित्ने लक्ष्य राखेको नेपाली महिला टिमले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाली टिमकी कप्तान अरुणा शाहीले यस पटक घरेलु मैदानमा स्वर्ण पदक जित्दै इतिहास रच्ने लक्ष्यमा रहेको बताएकी छिन् ।

नेपाली महिला टिम २ साता अघि सोझो सेटमै बंगलादेशको घरेलु भूमिका हराएकाले उच्च मनोबलका साथ कोर्टमा उत्रने छ । उनले सबै प्रतिस्पर्धी उस्तै भए पनि पछिल्लो समय आफूहरुले वैदेशिक प्रशिक्षण पाएको र बंगलादेशमा भएको सेन्ट्रल जोनको प्रदर्शनले टिममा धेरै ऊर्जा थपिएको विश्वास व्यक्त गरिन् ।
आजै पुरुष टिमले समेत बंगलादेशसंग खेल्ने तय छ । खेल साँझ ७ बजे शुरु हुनेछ ।