May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

सामाजिक सुरक्षा भत्ताले दैनिकी सहज बन्दै

सामाजिक सुरक्षा भत्ताले दैनिकी सहज बन्दै

१७, मंसिर, २०७६, काठमाडौं । हात र औँलाको चाल, अनुहार र शरीरको हाउभाउको माध्यमबाट आफ्नी छोरीका लागि लुगा खरिद गर्दै थिए, आशिष रायमाझी ।

लुगा व्यापारीसँग सहज रूपमा साङ्केतिक भाषामा बोलिरहेका उनले छोरीका लागि रातो जामा खरिद गरे । लुगा खरिद गरेपछि खुसी देखिएका रायमाझी साङ्केतिक भाषामा भन्छन्, ‘म बहिरा भए पनि खुसी छु । मलाई विचरा भनेर सान्त्वना दिनु पर्दैन । हातखुट्टा बलिया छन् । परिवारको रेखदेख र खुसी राख्न सक्ने क्षमता मसँग छ ।’

उनले भने, ‘सामाजिक सुरक्षा भत्ताले हामीजस्तालाई सहज बनाएको छ । अझ पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई यो पैसाले कसैसामु हात फैलाउनु नपर्ने अवस्था सिर्जना भएको छ ।’

अहिले सञ्चार तथा प्रविधिले हामीलाई पनि देश विदेशसँग जोडेको र आफूले विदेशमा रहेका साथीसँग सजिलै भिडियो कल गर्ने गरेको अनुभव रायमाझीले बताए ।

विद्यालयमा छोरीलाई केही पर्यो भने पनि शिक्षकहरू भिडियो कल गर्छन् भन्दै रायमाझीले भने, ‘त्यस बेला मलाई पनि आफू अपाङ्गता भएको व्यक्तिजस्तो लाग्दैन ।’

अष्टलक्ष्मी जोशी पनि बोल्न र सुन्न सक्दिनन् तर पनि सौन्दर्य व्यवसायमा आबद्ध छिन् । २५ वर्षदेखि यस व्यवसायमा आबद्ध उनी फूप्रति गर्व गर्छिन् । सांकेतिक भाषामै बोल्छिन् ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।