May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

प्रर्यटन बर्षसँगै तेह्रथुपका फेदाम गाउँपालिकामा नया रौनक

प्रर्यटन बर्षसँगै तेह्रथुपका फेदाम गाउँपालिकामा नया रौनक

आइतवार २२, मंसिर २०७६ तेह्रथुम
संघीय सरकारले आगामी वर्षलाई भ्रमण वर्षको रूपमा मनाउने तयारी गरिरहेको बेला फेदाप गाउँपालिकाले स्थानीय स्तरका ७ नयाँ पर्यटकीय गन्तव्य पहिचान गरी विकास निर्माण थालेको छ । गाउँपालिका अध्यक्ष हरिप्रसाद चोङबाङका अनुसार पर्यटकीय गन्तव्य पहिचानपछि आम्दानीको स्रोत वृद्धि हुने गरी पूर्वाधार निर्माण थालिएको हो । गाउँपालिकाले यसका लागि चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँछुट्याएको छ । वडा १ देखि ५ सम्मका पर्यटकीयस्थलको पहिचान गरी पूर्वाधार विकास गर्दै सिङ्गो गाउँपालिकालाई पर्यटकीय गन्तव्य बनाउनसमेत अध्ययन र अवलोकन भइरहेको गाउँपालिकाले जनाएको छ । ३ सय ६५ मिटर अग्लो ह्यात्रुङ झरना यही गाउँपालिकामा छ । वडा ४ र ५ को सीमामा रहेको झरनाको पर्यटकीय विकासका लागि गाउँपालिकाले २८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यही झरनालाई केन्द्र भागमा राखेर आसपास ७ स्थानका पर्यटकीय गन्तव्य समेत छनोट गरिएको गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाभित्र बसोबास गर्ने विभिन्न जातजाति र समुदायको संस्कृति, वेशभूषा, खानपान रहनसहन लगायतका विषयलाई समेत पर्यटन प्रवर्द्धनसँग जोडिएको गाउँपालिकाले जनायो । गाउँबस्तीका सुन्दरता र संस्कृतिलाई पर्यटनसँग जोड्दै घरबास कार्यक्रम विकासमा समेत गाउँपालिका लागेको अध्यक्ष चोङबाङको भनाइ छ । फेदाप गाउँपालिका धार्मिक एवं सांस्कृतिक रूपमा समेत महत्त्वपूर्ण स्थल मानिन्छ । पर्यटकलाई लक्षित गरी केही बस्तीमा घरबास कार्यक्रम पनि सञ्चालन गर्ने तयारी गाउँपालिकाले थालेको छ । घरबासमा स्थानीय परिकारको स्वाद लिन पाइनुका साथै विभिन्न संस्कृतिको अवलोकन गर्ने व्यवस्था मिलाइने गाउँपालिको योजना छ । ओयाक्जुङ जलजले र सिम्लेको सीमामा रहेको चिचिलिङ पोखरी र भ्यागुते ढुंगा, सोही वडामा रहेको गुल्डुङ डाँडा, वडा २ ओयाक्जुङमा रहेको मझौ गुफा र भैंसे पोखरी, वडा ३ जलजलेमा रहेको माङगेनायक पदमार्ग, गाउँपालिका केन्द्र रहेको वडा १ पोक्लाबाङ बजार केही माथि रहेको भगवती डाँडा मन्दिर क्षेत्रलाई नयाँ गन्तव्य छानिएको छ ।