April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

राजनीतिक आडमा हुने भ्रष्टाचारको फाइल खोज्दै अख्तियार

राजनीतिक आडमा हुने भ्रष्टाचारको फाइल खोज्दै अख्तियार

काठमाडौँ । राजनीतिक आडमा हुने भ्रष्टाचार बढेको गुनासो आइरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक दलका नेताले गर्ने भ्रष्टाचारको अनुसन्धान गर्ने भएको छ । करिब दुई दर्जन नेताको अकूत सम्पत्तिको फाइल अख्तियारले तामेलीमा राखिरहेको अवस्थामा सोमबार भ्रष्टाचारविरुद्धको अन्तर्रा्ष्ट्रिय दिवसको कार्यक्रममा अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले अब राजनीतिक लगायत जुनसुकै ओहोदामा भएको व्यक्तिको विषयमा पनि शसक्त छानबिन गर्ने प्रतिबद्धता जनाएका छन् ।
हाल अख्तियारले १ हजार ५ सय उजुरीको छानबिन गरिरहेको छ । जसमा ठूला व्यापारीदेखि राजनीतिक दलका नेताविरुद्धमा परेका उजुरीको छानबिन भइरहेको अख्तियारले जनाएको छ ।
आयोगले मुलुकभर गरेको सर्वेक्षणमा १ हजार १ सय ४८ ठेक्काको सूक्ष्म अनुगमन गरेर विवरण संकलन गरेको र ठूला आयोजनामा राजनीतिक दलका नेता तथा कार्यकर्ताको प्रभाव रहेको पाइएको जनाएको छ ।
विशेष गरी सेवाग्राहीको बढी भीड हुने कार्यालयका प्रमुखदेखि तल्ला तहका कर्मचारीले समेत सेवाग्राहीलाई पैसा नलिई काम गर्नै हुन्न भन्ने प्रवृत्तिले घर गरेको पाइएको छ ।

आयोगले विशेष अदालतमा गत वर्ष २५६ मुद्दा दर्ता गर्दा ८८ प्रतिशतमा सफलता प्र्राप्त गरेको उनले जानकारी दिए । सरकारलाई सुझाव दिएको उल्लेख गर्दै उनले ती सुझावमध्ये केही कार्यान्वयनमा गएको र केही रुग्ण आयोजनाको ठेक्का सम्झौतासमेत खारेज भइसकेको बताए । आयोगले निर्माण कार्यमा हुने गुणस्तर मापनका लागि बर्दिबास र नेपालगन्जमा इन्जिनियरिङ ल्याब सञ्चालनमा रहेको र अन्य क्षेत्रमा पनि ल्याब सञ्चालनको तयारी भइरहेको छ ।
आयोगले स्थानीय तहको निर्वाचनपछि गरेको सर्वेक्षणमा उत्साहप्रद नरहेको जनाएको छ । विगतमा शिक्षा क्षेत्रमा व्याप्त भ्रष्टाचार हुने गरेको भए पनि स्थानीय तहको संरचना बनेपछि धेरैजसो भ्रष्टाचार स्थानीय तहमा हुने गरेको आयोगले जनाएको छ । ट्रान्सपरेन्सी इन्टरेनसनले गरेको अध्ययनअनुसार सन् २०१८ मा नेपाल भ्रष्टाचार हुने देशको सूचीमा १२४ स्थानमा रहेको छ । सन् २०१७ मा नेपाल १२२औं स्थानमा रहेको थियो ।