बैंकका सिइओ सम्पत्ति शुद्धीकरणको अनुसन्धान घेरामा
मंसिर २५, काठमाडौं
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एक दर्जन वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) माथि एकैपटक अनुसन्धान अघि बढाएको छ । बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह गर्दा अनियमितिता गर्ने र गलत तरिकाबाट लाभ उठाउने गरेको गुनासो आएपछि विभागले बैंक तथा वित्तीय क्षेत्रमा सिइओलाई विशेष निगरानीमा राख्दै बिशेष निगरानी राखेको हो । यसरी निगरानीमा पर्नेमा बैंकमा ख्याति कमाएका अनुभाबी बैंकर्स रहेको शुद्धीकरण विभाग सम्बद्ध कर्मचारीले बताएका छन् । सम्पूर्ण वाणिज्य बैंकका प्रमुखमाथि सामान्य अनुसन्धान थालेको विभागले विशेष निगरानीमा भने एक दर्जन सिइओलाई तारगेट गरेका स्रोतले दाबी गरेको छ । विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमातहत ल्याइएपछि यसले सक्रियता बढाउँदै लगिएको छ । यसका अलावा बैंंक तथा वित्तीय संस्थाका प्रमुखहरुको सम्पत्तीमा अस्वाभाविक वृद्धि देखिएपछि पनि अनुसन्धान अघि बढाइएको स्रोतको दावी छ । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलबमाथि अर्थमन्त्री डा युवराज खतिवडाले पनि असन्तुष्टि जनाउँदै आएका थिए । उनी समेत बित्तीय क्षेत्रका पदाधिकारी विशेष गरी सिइओलाई निगरानीमा राख्नु पर्नेमा जोड दिदै आएका छन् । त्यही भएर पनि अनुसन्धान विभाग अगाडि बढेको हो । अनुसन्धानको लागि विभागले बैंक तथा वित्तीय संस्थाबाट सम्पत्ति शुद्धीकरणको दृष्टिकोणमा जोखिमयुक्त क्षेत्र र ऋण प्रवाह भइसकेको क्षेत्रको डाटा यस अगाडि नै लिएको छ । यस अन्र्तगत सम्पूर्ण बैंकका कर्जा शाखामा काम गर्ने उच्च अधिकृतहरु र सिइओको विवरण यस अगाडि नै संकलन गरेको हो । यतिखेर त्यस मध्ये विशेष आर्थिक हैसिय देखिएका र समाजमा आलोचितलाई भने शुद्धीकरणले तारगेट गरेको स्रोत बताउँछ । नेपालमा सम्पत्ति शुद्धीकरणका लागि जोखिमपूर्ण मानिएको घरजग्गामा बैंक तथा वित्तीय संस्थाहरुबाट अधिक ऋण प्रवाह भएको र त्यस्तो ऋण प्रवाह गर्दा जोखिमको उपयुक्त मूल्यांकन नभएको विभागको आशंका छ । कर्जा प्रवाह गर्दा गलत मनसाय राखेर आर्थिक फाइदा लिएको देखि लिएर संस्थागत सुशासन समेतमाथि प्रश्न उठाउदै अनुसन्धान अगाडि बढाइएको हो । नेपालमा गैरकानुनी सम्पत्तीको उपयोगबाट गलत क्रियाकलाप हुन रोक्ने महत्वपूर्ण जिम्मेवारी पाएको विभागले त्यसअघि नै केही महत्वपूर्ण क्षेत्रमा अनुसन्धान अघि बढाएको हो ।
प्रतिकृया दिनुहोस्