June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

अदक्ष कामदार नै नेपालको एक चुनौती

अदक्ष कामदार नै नेपालको एक चुनौती

०२ पौष, २०७६, काठमाण्डौ । आज डिसेम्बर १८ अर्थात् १९ औं अन्तर्रा्ष्ट्रिय आप्रवासन दिवस आप्रवासी कामदार तथा तिनका परिवारका सदस्यको अधिकार संरक्षणमा विश्व समुदायलाई खबरदारी गर्ने उदेश्य सहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदैछ ।
शिक्षा, रोजगारी, पेशासँगै व्यवसाय गर्ने एक देशदेखि अर्को देशमा बसाँइसराइ सर्ने नागरिकका हकअधिकारको संरक्षणका लागि यो दिवस मनाउन थालिएको हो । आजभोली रोजगारीकै खोजीमा विदेशिने आप्रवासी श्रमिकहरूले गन्तव्य मुलुकमा विना गल्ति विभिन्न किसिमका यातना, शोषण तथा कानुनी सजायँ (जेलजीवन) भोग्न बाध्य रहेका घटना बढ्दै गइरहेका छन् । कतिपय अवस्थामा उनीहरूको मानव अधिकारसमेत हनन् हुने गरेको पाइएको छ ।
आप्रवासी कामदारका क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय सङ्घसंस्थाले उनीहरुको अधिकारका लागि विश्व समुदायलाई दवाब दिन विभिन्न कार्यक्रमको आयोजना गरेका छन । नेपालमा पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अगुवाइमा आप्रवासी कामदार तथा तिनका परिवारका सदस्यको अधिकार, आप्रवासन चक्र, सुरक्षित आप्रवासनलगायत क्षेत्रमा सचेतता दिलाउने उदेश्यले विभिन्न कार्यक्रम गरिन्छ ।
विश्वव्यापीकरणसँगै यातायात, सञ्चार प्रविधि, रोजगार र शिक्षाले फड्को मारेपछि श्रम तथा रोजगारी बजार साँघुरिदै जादाँ ठाँउबाट अर्को ठाउँमा मान्छे सर्ने क्रम पनि बढ्दो छ ।


विगत ५ दशकयता रोजगारी तथा व्यापारका लागि फरक देश जाने प्रवृत्ति पनि बढ्दै गएको छ । विश्वभर २ अर्ब ४४ करोड आप्रवासीमध्ये १ अर्ब ५० लाखभन्दा धेरै श्रमका लागि एक देशदेखि अर्को देश जाने गरेको अन्तर्रा्ष्ट्रिय श्रमिक संगठन आइएलओको तंथ्याकमा उल्लेख छ ।
पछिल्लो समय आप्रवासी कामदारको मानव अधिकार प्रत्याभूतिको विषय प्रमुख चुनौतीका रूपमा देखिएको छ । न्यायमा पहुँच नहुनु, तोकिएको ज्याला नपाउनु, समयमै ज्याला नपाउनु, श्रम शोषण, यौनशोषण, कामबाट बिनाकारण निकालिनु, घरेलु हिंसाजस्ता समस्या आप्रवासी श्रमिकले भोग्दै आएका छन् । मुख्यतः गन्तव्य मुलुक र स्रोत मुलुकबीच आप्रवासी कामदारका सम्बन्धमा सम्झौता नहुनु तथा भएका सम्झौताको पनि इमान्दारीपूर्वक पालना नहुनु मुख्य समस्या रहेका छन् । त्यस्तै, मुख्यतः गन्तव्य देश र स्रोत देशबीच आप्रवासी श्रमिकका सम्बन्धमा सम्झौता नहुनु तथा भएका सम्झौताको पनि इमान्दारीपूर्वक पालना नहुनु मुख्य समस्या रहेको छ ।
खाने, बस्ने लगायत आधारभूत आवश्यकताका समस्या झेल्न आप्रवासी श्रमिक बाध्य छन् । मलेसियालगायत कतार, साउदी, कुवेत, बहराइन, ओमानलगायत मुलुकमा आप्रवासी श्रमिकलाई पशुसरह व्यवहार गरिने प्रवृत्तिले बढावा पाइरहेको छ ।
सरकारी तथ्यांकअनुसार नेपालमा रोजगारीको अवसर नपाएर वार्षिक करिब ६ लाख युवा भारत बाहेकका देश विदेसिने गरेका छन् । आव ०५०र५१ देखि आव ०७६र७७ सम्ममा करिब ६१ लाख युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा विभिन्न देश पुगेका छन् ।
जसमा ९ लाख महिला रहेको विभागको तंथ्याकमा छ । हाल विश्वका विभिन्न देशमा करिब ४४ लाख युवा वैदेशिक रोजगारीमा कार्यरत रहेको सरकारी अनुमान छ ।
आफूसँग सीप नहुँदा थुप्रै नेपाली श्रमिक परदेशमा सस्तो मूल्यमा जोखिमपूर्ण काम गर्न बाध्य छन्। सीप नभएकै कारण अकालमा ज्यान गुमाउने तथा अंगभंग भएर फर्किनेको संख्या बढिरहेको छ ।
नेपाल सरकारले २०७२ सालदेखि नै मलेसियालगायत खाडीका साउदी, कतार, बहराइन, ओमानलगायत मुलुकका लागि निःशुल्क टिकट तथा प्रवेशाज्ञा लागू गर्ने निर्णय गरे पनि अझैंसम्म लागू हुन सकेको छैन ।
अदक्ष कामदार आर्थिक तथा भौतिक रुपमा उच्च जोखिममा पर्ने अवस्थासँगै सरकारले पछिल्लो समय सीपयुक्त जनशक्तिलाई मात्र वैदेशिक रोजगारीमा पठाउने नीति अख्तियार गरेको छ ।