May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

कर्जा विस्तारमा असर, तरलता बढेर अहिले ३० अर्ब पुग्यो

कर्जा विस्तारमा असर, तरलता बढेर अहिले ३० अर्ब पुग्यो

पुष ६, काठमाडौं ।
सरकारले विकासका कामलाई तिब्रता दिन नसक्दा त्यसको असर यतिखेर बैकले दिने ऋणमा परेको छ । यतिखेर सरकारी तथा निजी आवास निर्माण कार्य अति सुस्त छ । विगतमा ठूला ब्यावसायीलाई ऋण दिन नसकेर बैंकमा तरलता हुन्थियो भने यतिखेर ठूला ब्यवसायी ऋण नै माग्न समेत छाडेका छन् । यस्को भित्री कारण हो सरकारले निएको नीति । सरकारले यो वर्षदेखि दुईथरी वासलात देखाउन नपाउने व्यवस्था गरेको छ । यस्तै आयातको क्षेत्रमा पनि ऋणको माग घटेको छ । यस्तै कर तिरेको र ऋण लिदा बुझाएको वासलात एउटै हुनुपर्ने व्यवस्थाले पनि ऋण विस्तार प्रभावित भएको छ । यसअघि कतिपय उद्योगी व्यवसायीले कर तिर्दा नाफा कम भएको र बैंकबाट ऋण लिँदा नाफा धेरै भएको वासलात देखाउँथे ।
निर्माण सामग्रीको माग नबढ्नु ऋण विस्तार सुस्त हुनुको मुख्य कारण हो । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा साढे ८ प्रतिशतले ऋण लगानी बढाएका थिए । यसपालि यो दर ५ प्रतिशतमा सीमित छ ।
एक महिनाअघि बैंकमा १७ अर्ब रुपैया तरलता थियो । तर निक्षेपमा उल्लेख्य वृद्धि र ऋण विस्तारमा कमीका कारण बैंकमा तरलता बढेर अहिले ३० अर्ब रुपैया पुगेको छ । असोजमा ऋण प्रवाह २ दशमलव एक प्रतिशतले बढेकामा मंसिरको वृद्धि शून्य दशमलव सात प्रतिशतमा सीमित छ । नयाँ राजनीतिक परिवेशमा उत्साहित भएर सिमेन्ट र डण्डी उद्योगमा लगानी बढाएका उद्योगीले अहिले आफ्ना उत्पादन बिक्री हुन नसकेर गोदाममा थन्क्याएर बसेका छन् । ऋण धेरै खपत हुने क्षेत्रबाट माग आउनै छाडेकाले बैंकहरु खुद्रा ऋण विस्तारतिर लागेका छन् । ऋण विस्तार प्रभावित हुँदा त्यसले बैंकको नाफामा त असर पर्छ नै, सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्यमा पनि धक्का लाग्ने देखिएको छ ।