May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

सुन्तला बेचेरै छोरो डाक्टर, प्रशस्तै घरघडेरी

सुन्तला बेचेरै छोरो डाक्टर, प्रशस्तै घरघडेरी

पौष ६, २०७६, काठमाडौ । कृषि विकास बैंकबाट ०३३ सालमा ७ हजार रुपैयाँ ऋण लिएर सुन्तला खेती सुरु गरेकी कास्की निर्मलपोखरीकी टेकमाया पौडेल अहिले वार्षिक ५र ६ लाख रुपैयाँ कमाउँछिन् । सुन्तला बेचेरै उनले एक छोरालाई डाक्टर पढाइन् । दुई छोरीको बिहे गराइन् । पोखरामा घरघडेरी जोडिन् ।

स्याङ्जा फेदीखोलाबाट निर्मलपोखरी फेदीपाटनका टीकाराम पौडेलसँग ४ दशकअघि बिहे गरी आउँदा उनी मात्रै आइनन् , सुन्तला खेतीको उपाय पनि ल्याइन् । टीकारामले टेकमायाको माइतीमा सुन्तला खेती गरेको देखेपछि निर्मलपोखरीमा सिको गरे । तत्कालीन सरकारले सहुलियतमा कृषि ऋण दिएको फाइदा उनको परिवारले लियो । टेकमाया र उनका छिमेकी तीर्थराज पौडेलले ७र७ हजार रुपैयाँ ऋण लिएर सुन्तलाका तीन सय बेर्ना किने । पाखो बारी बिराए । बगैंचा बनाए । बान्नो (पर्खाल) लगाए । घर बनाए । रोपेको ३ वर्षमा तीन दाना सुन्तला फले । टेकमायाले पशुपति लगेर चढाइन् । ‘पशुपतिमा शतबीज छर्ने मेसोमा पहिलोपल्ट फलेका सुन्तला पनि लगेर चढाए,’ पहिलो दाना दिने बोट देखाउँदै उनले भनिन्, ‘त्यति बेला पोखराबाट काठमाडौं पुगेको १७ रुपैयाँ भाडा थियो ।’ अर्को वर्ष फलेका सुन्तला बेचेर उनले ७ सय रुपैयाँ कमाइन् । त्यसको अर्को वर्ष १८ सय रुपैयाँ । सुन्तला फल्न थालेको ३ वर्षमा बैंकको ऋण निखरिन् । पोहोर मात्रै उनले ५ लाखका सुन्तला बेचिन् । ‘त्यति बेला सुन्तला बेच्न धेरै दुस्ख थियो,’ उनले सम्झिन्, ‘एकाबिहानै राँको बालेर डोकोमा बोकी रुपैयाँका ५ गोडा मुस्ताङचोकमा लगेर खनाम्थेम् । अहिले किन्ने मान्छे घरमै आउँछन्, स्वर्ग छ ।’

सुन्तला खेतीपछि टीकारामले शिक्षण पनि गरे । १४ वर्षअघि पेन्सन पाक्यो । सुन्तला बेचेको पैसामा थपथाप गरेर पोखराको बिरौटामा घडेरी जोडे । छोरा सुरज पौडेलले एमबीबीएस पढ्ने इच्छा देखाए । टेकमायाले त्यही घडेरी बेचेर पोखराकै गण्डकी मेडिकल कलेजमा एमबीबीएस पढाइन् । अहिले सुरज इन्टर्न्सिप गर्दै छन्  । ०५४ सालमा वडा सदस्य भएकी टेकमायाले सुन्तला खेती विस्तार गरेर चार सय बोट र्पुयाइन् । सुन्तला बेचेकै पैसाले बिरौटामा अर्को घरघडेरी जोडिन् । ‘सुन्तलाले सबै कुरा दियो, एकदम सन्तुष्ट छु,’ फेदीपाटन सुन्तला उत्पादक कृषि समूहकी अध्यक्षसमेत रहेकी ६४ वर्षीया टेकमायाले भनिन्, ‘सुन्तलाको अनुभव भयो । अब ज्ञान चाहियो ।’

यो समाचार आजको कान्तिपुर दैनिकमा दीपक परीयारले लेखेका छन् ।