May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

आज ‘क्रिसमस डे’ विश्वभर मनाइदै

आज ‘क्रिसमस डे’ विश्वभर मनाइदै

पुस ९, काठमाडौं ।
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव २५ डिसेम्बरका दिन देशभरका चर्चमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । इसाई धर्मावलम्बीहरूको सबैभन्दा ठूलो चाडका रुपमा आज क्रिसमस डे मनाइएको हो । इसाई धर्मका मुख्य प्रवद्र्धक तथा गुरु जिसस क्राइष्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ का दिन क्रिसमस डे मनाइन्छ ।
दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।
नेपालमा ४ सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रिष्टियन महासंघका पदाधिकारीहरु बताउँछन् । विक्रम संवत् ०६२–६३ को ऐतिहासिक परिवर्तनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता घोषणा गर्नुका साथै राज्यले ख्रीष्टमस पर्वलाई येशु ख्रीष्टको शुभ जन्मदिवसका रुपमा मान्यता दिएको छ । हाल नेपालभर १२ हजारभन्दा बढी चर्च र ३० लाखभन्दा बढी ख्रिष्टियन समुदाय रहेको अनुमान छ ।
क्रिसमस डेका अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदा दिएको छ । अघिल्लो वर्ष नै मन्त्रिपरिषद्ले क्रिसमसमा सम्बन्धित धर्मालम्बीलाई मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । त्यहीअनुरूप यस वर्ष सम्बन्धित धर्मालम्बीलाई मात्र बिदा दिइएको छ । यद्यपि, क्रिश्चियन धर्मालम्बीले भने सार्वजनिक बिदाको माग गर्दै आइरहेका छन् । क्रिसमसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिएका छन् ।