May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

नेपाल उद्योग वाणिज्य महासंघमा चुनाबी माहोल बढयोः बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघमा चुनाबी माहोल बढयोः बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

पुष ११ काठमाडौँ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले आगामी चैतमा हुने महासंघको चुनावका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । उपाध्यक्ष ढकालले बागलुङ उद्योग वाणिज्य संघको प्रस्तावमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
ढकाल द्विराष्ट्रिय प्रतिनिधिका रूपमा महासंघमा प्रवेश गरेका थिए । त्यसपछि केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत प्राप्त गरि अर्को कार्यकालका लागि निर्वाचित भएका ढकाल महासंघको एसोसिएट्स उपाध्यक्ष मा निर्विरोध निर्वाचित भएका थिए ।

ढकाल हाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषदको सभापति हुन् । उनी महासंघमा यसअघि दुई कार्यकाल कार्यसमितिको सदस्य भैसकेका छन् ।
ढकाललाई महासंघको बरिष्ठ उपाध्यक्षको बलिया दावेदारको रूपमा हेरिएको छ । अहिले बरिष्ठ उपाध्यक्षमा विजयी हुने व्यक्ति तीन वर्षपछि स्वतः अध्यक्ष बन्ने बैधानिक व्यवस्था भएकोले बरिष्ठ उपाध्यक्षको निर्वाचनलाई निकै महत्वका साथ लिइन्छ ।


बागलुङको अमलाचौरमा २०२२ सालमा जन्मिएका ढकाल आइएमई गु्रप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष छन् । उनी डिस होम मिडिया प्रालिका प्रवद्र्धक पनि हुन् । कार्गो व्यवसायबाट व्यवसायिक यात्रा सुरु गरेका ढकालको जलविद्युत, पर्यटन, सूचना प्रविधि, ट्राभल्स एण्ड टुर्स, अटोमोबाइल तथा केबुलकार लगायतका दुई दर्जन भन्दाबढी व्यवसायमा लगानी रहेको छ ।

ढकाल नेपाल इन्डोनेसिया च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका अध्यक्ष तथा नेपाल जर्मन च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका उपाध्यक्ष समेत छन् । ढकाल नेपाल मलेसिया चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष समेत भएका थिए । समाज सेवाका विविध क्षेत्रमा संलग्न ढकाल लगानी बोर्डका आमन्त्रित सदस्य तथा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत हुन् ।