May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

सुदूरपश्चिम प्रदेशसभाले पाएन बिजनेस

सुदूरपश्चिम प्रदेशसभाले पाएन बिजनेस

पुस १४ , काठमाडौँ ।
वर्षे अधिवेशन सकिएको चार महिना बितिसक्दा पनि प्रदेश सरकारले बिजनेस दिन नसक्दा सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अझै सुरु हुन सकेको छैन । भदौ १ गते प्रदेश सभाको बर्षे अधिवेशन सकिएको थियो । त्यसयता प्रदेश सरकारले प्रदेश सभामा कुनै पनि विधेयक दर्ता गर्न सकेको छैन ।
विषयगत मन्त्रालयले विभिन्न विषयमा विधेयक तयार गर्ने भन्दै सैद्धान्तिक सहमति लिए पनि अझैसम्म विधेयक तयार गर्न सकेका छैन् । जसका कारण प्रदेश सभाले बिजनेस पाउन सकेको छैन । सरकारले बिजनेस दिन नसक्दा प्रदेश सभाको बैठक कहिले बस्छ भन्ने कसैलाई जानकारी छैन ।
सामाजिक विकास मन्त्रालयले गत वर्षको भदौ ४ गते सैद्धान्तिक सहमति लिएका दुई विधेयक हालसम्म तयार गरेको छैन । पहलमानसिंह स्वाँर प्रज्ञा प्रतिष्ठान गठनसम्बन्धी विधेयक र प्रदेश श्रम तथा रोजगार विधेयक हालसम्म तयार नभएका हुन् । विकास मन्त्रालयले नै सैद्धान्तिक सहमति पाएको श्रम तथा रोजगारसम्बन्धी विधेयकमा भने कुनै पनि काम गरेको छैन । त्यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत वर्षको साउन २१ गते सैद्धान्तिक सहमति पाएको जग्गा प्रशासन तथा नाप नक्सासम्बन्धी विधेयकमा समेत कुनै काम भएको छैन ।
यो विधेयक डेढ वर्षदेखि मन्त्रालयमै थन्किइरहेको छ ।