May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

‘तान्त्रिक पूजा’मा सहभागी गराउन विराटनगर लगिएकी मोडल युवतीको भोगाइ

‘तान्त्रिक पूजा’मा सहभागी गराउन विराटनगर लगिएकी मोडल युवतीको भोगाइ

गएको बुधवार मोडलिङका लागि भन्दै काठमाण्डूबाट विराटनगर पुर्‍याइएकी एक २२ वर्षीया युवतीलाई ‘तान्त्रिक पूजा’ गराउने तयारी गर्ने सात जनालाई प्रहरीले पक्राउ गर्‍यो। सो घटनाले मानव बेचबिखनको एउटा नयाँ डरलाग्दो पाटो उजागर गरेको प्रहरीको भनाइ छ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले भने: “युवती खोज्दा राखिएका सर्तहरू र पक्राउ परेकासँग भेटिएका पूजा सामग्रीहरू हेर्दा मोडलिङका नाममा युवतीलाई तान्त्रिक काममा दुरूपयोग गर्ने गरी भारत लैजान लागेको देखिन्छ।”

छ फिटको मोडल

मङ्सिर २९ गते एकजना चिनेको दिदीमार्फत् एउटा सांस्कृतिक कार्यक्रमको लागि छ फिट उचाइ भएका १० जना मोडल चाहिएको जानकारी आयो।

मेरो उचाइ पाँच फिट ११ इन्च भएकोले मेरो भिडिओ रेकर्ड गरेर लैजानु भयो। त्यसको चार दिनपछि अर्को एक व्यक्तिको फोन आयो। उसले भन्यो, “कोटेश्वरमा एउटा कार्यक्रम हुन लागेको छ। भारत र कोरियाबाट मानिसहरू आउँदै छन्। कार्यक्रमको लागि छ फिटको मोडलहरू चाहिएको छ।”

तीनजना मलाई भेट्न आए। उनीहरूले मेरो उचाइ नाप्दै गरेको भिडिओ बनाए । पाँच फिट ११ इन्च मात्र देखियो। तीमध्ये एकले भन्यो: “अलिकति हिल भएको जुत्ता पनि लगाउनु पर्छ समस्या हुँदैन।”

५० हजार पारिश्रमिक

त्यसको दुई दिनपछि मलाई फेरि फोन आयो। म छनोट भएछु। मेरो पारिश्रमिक २० हजार भनिएको थियो तर ५० हजारसम्म मिलाइदिने वाचा गरे। बीस हजारबाट एकैपटक ५० हजार रूपैयाँ दिने कुराले मलाई अचम्म लाग्यो। मलाई राम्ररी थाहा थियो कि एक ‍र्‍याम्प मोडलले एक दिनको पारिश्रमिक १० देखि १२ हजार मात्र पाउँछन्।

अनि फेरि सोचेँ विदेशबाट प्रायोजन भएकोले राम्रै पैसा दिन लागेका होलान्। मैले कार्यक्रमको फर्म्याट र मैले लगाउने लुगाको फोटो सबै पठाउन भनेँ। ती व्यक्तिहरू मलाई ‘अभिमुखीकरण कक्षाका लागि बोलाउँछौँ’ भनेर बिदा भए। तर कार्यक्रम कहिले हुने भन्नेबारे मलाई केही जानकारी दिएनन्।

पूजा जोडियो

उक्त सांस्कृतिक कार्यक्रममा पूजा पनि हुने भयो भनेर मलाई पुस ५ गते फोन आयो। मैले पहिले पनि एउटा सांस्कृतिक कार्यक्रम गरिसकेकी थिएँ तर त्यस्तो पूजापाठ केही भएको थिएन। अनि फेरि सोचेँ विदेशीहरूले नेपालको पूजा हेर्न मन गरेका होलान्। मैले बारम्बार कार्यक्रमको ढाँचा मागिरहेकी थिएँ तर जानकारी केही पनि पाएकी थिइनँ।

महिनावारीबारे चासो

पूजा हुने कुरा भए लगत्तै मेरो महिनावारी भएको छ कि छैन भनेर सोधियो। मलाई निकै नै अचम्म लाग्यो। स्थिति सामान्य लागेन। कार्यक्रममा पूजा पनि हुने भएकाले मेरो महिनावारी भइरहेको भए कार्यक्रम नै सार्नुपर्ने हुन्छ पो भन्छन्। म त पूरै अलमलिएँ। त्यो व्यक्तिलाई सिधै भनेँ, “सांस्कृतिक कार्यक्रमको लागि मेरो महिनावारीको बारे सोधिराख्नु जरूरी छैन।” उसले पूजा हुने भएकाले महिनावारी भए चल्दैन भन्यो। मैलै महिनावारी सकिएको कुरा बताएँ।

डर र शङ्का

फोन राखेपछि मनमा अनेकौँ विचार खेलिरहे। मलाई छटपटी भयो। मैले सुरक्षित महसुस गरिनँ। पाँच वर्ष मैले मोडलिङ क्षेत्रमा काम गरिसकेको थिएँ। तर मलाई यस्ता अजिब प्रश्नहरू पहिले कसैले सोधेका थिएनन्। मैले तुरुन्तै दाइलाई फोन गरेर सबै कुरा बताएँ। दाइ पनि अचम्मित हुनुभयो। उहाँले ‘राम्ररी बुझ्’ भन्नुभयो। कार्यक्रम विराटनगर सर्‍यो कार्यक्रमको ढाँचा माग्न मैले त्यो व्यक्तिलाई फोन गरेँ। उसले कार्यक्रम काठमाण्डू कि विराटनगरमा हुने बतायो।’कार्यक्रममा तपाईँ एक्लै मोडल हो’ समेत भन्यो। त्यसलगत्तै निकै सहजतापूर्वक अर्को अजिब प्रश्न सोधियो, “तपाईँ मासु र रक्सी खानुहुन्छ?” तैपनि मैले सोचेँ कि विदेशी पाहुनाहरूले मोडलहरूले रक्सी खाएको मन पराउँदैनन् होला। मैले म राम्ररी काम गर्छु र ‘कार्यक्रमको दिन केही खाँदिन, चिन्ता नगर्नुस्’ भनेँ।

प्रहरीलाई खबर

भोलिपल्ट मैले दाइलाई सबै कुरा भनेँ। दाइलाई पनि ती सबै कुरा साह्रै अनौठो लाग्यो र उहाँले मलाई प्रहरीसँग सल्लाह गर्ने सुझाव दिनुभयो। म टेकु गएँ र प्रहरी अधिकारी उत्तम सुवेदीलाई भेटेर सबै कुरा बताएँ। मेरा कुरा सुनेर प्रहरी समेत चकित् भए । उहाँले एकमात्र सुझाव दिनुभयो, “अझै बढी बुझ्नस्।” स्टेजमा पूजा त्यसपछि दुई महिलासँग भेट भयो।

उनले भने: “तपाईँलाई रातो साडी लगाइदिएर लक्ष्मीमाता जस्तै बनाइन्छ। २५ तोलासम्मको सुनको गहना लगाइदिन्छ।” उनीहरूले विराटनगरमा पूजाको लागि एउटा ठूलो भवन भएको र एकजना गुरूले पूजा गरेर भिडिओ बनाउने बताए। मैले सुनिरहेँ। मैले पारिश्रमिकको कुरा गरेँ। ३० हजारमा सहमति भयो। कागज नगरी काम नगर्ने अडान राखेपछि उनीहरूले भोलिपल्ट २६ हजार पैसा दिए र कागज गरे। त्यो कागजमा कम्पनीको नाम थिएन।ल भारत सीमाक्षेत्र

विमानस्थलमा कालो धागो

त्यही दिन एक नयाँ व्यक्तिले फोन गर्‍यो र त्यसै दिन विराटनगर जानुपर्ने बतायो। त्यही दिन कसरी जानु ? म मानिनँ। भोलिपल्टको बुद्ध एअरको बिहान १०:३० को उडानको टिकट काटिदिए र मेरो साथमा एक सहयात्री पठाइदिए । ती महिलाले विमानस्थलमा मलाई पूजाको लागि चाहिने भन्दै देब्रे खुट्टामा पाँच फन्को कालो धागो बाँधिदिइन्। फ्लाइट ढिला भएका कारण हामी दिउँसो १२:३० मा विराटनगर पुग्यौँ ।

‘मासु खान दिएनन्’

त्यहाँ गाडी लिन आउन ढिला भयो। विराटनगरको विमानस्थलमानै ३० मिनेट कुर्नु पर्‍यो। गाडी कुरिरहँदा दुइजना व्यक्तिले मलाई निगरानी गरिरहेको चाल पाएँ तर थाहा नपाएजस्तो गरि बसेँ। मैले कालो चस्मा लगाएकी थिएँ। म शौचालय जाँदा पनि उनीहरूले पछ्याइरहेका थिए। भोक लागेपछि विमानस्थलको रेष्टुराँमा चाउमिन खान गएँ तर मसँगै आएकी महिलाले मलाई आज पूजा गर्नुपर्ने भन्दै मासु खान दिइनन्।

डरको यात्रा

मैले दाइलाई मेसेजबाट सबै सूचना दिइरहेको थिएँ। मलाई निकै डर पनि लागिरहेको थियो। निकै असजिलो पनि भइरहेको थियो। दाइले मलाई केही नहुने विश्वास दिलाइरहनुभएको थियो। विमानस्थलबाट ४५ मिनेट गाडीमा यात्रा गरियो र कृष्ण मन्दिरको अगाडि एउटा चिया पसलमा खाजा खान रोकियौँ। खाजा खाने निहुँमा त्यहाँ एक घण्टाभन्दा बढी अल्झाइयो। कार्यक्रम आज नै हुने हैन भनेर सोध्दा एक व्यक्तिले भन्यो: “४५ मिनेटको मात्र कार्यक्रम हो, नआत्तिनुस्।”

धर्मशालामा लगियो

काली मन्दिर नजिकैको धर्मशालाको एउटा कोठामा मलाई राखियो। पूजाको लागि चाहिने सामान र गहना किन्न सीमापारी जोगबनी जानुपर्ने भन्दै मलाई त्यो होटलमा केहीबेर आराम गर्न भनियो। रात पर्न लागिसकेको थियो। मलाई निकै छटपटी भइरहेको थियो र टाउको पनि दुखिरहेको थियो। आराम गर्ने क्रममा मसँगै गएकी सहयात्रीले फेरि एकपटक मेरो उचाइ नाप्न अनुरोध गरिन्। छ फिट नपुगे कार्यक्रम रद्द हुने भन्दै ती महिला अत्तालिइन्। ती महिलाले मलाई मोजाभित्र काठको टुक्रा राख्न लगाई उचाइ नापिन्। उनी फोनमा अनेक भाषामा कुरा गरिरहेकी थिइन्।

प्रहरीको आगमन

कोठामा कसैले ढकढक गर्‍यो। ढोका खोल्दा प्रहरी रहेछ। प्रहरीले मलाई पछ्याउने मानिसहरू सबैलाई समातिसकेको रहेछ। अनि मैले आनन्दको सास फेरेँ। मलाई प्रहरी सुरक्षामा नै राखियो र भोलिपल्ट काठमाण्डू फर्काइयो।

सजग रहनुपर्ने रहेछ

हामी महिला हरपल असुरक्षित हुने रहेछौँ त्यसैले हामी निकै सजग हुनुपर्ने रहेछ। आर्थिक प्रलोभनमा परेर मैले मेरो परिवारमा केही पनि जानकारी नदिएको भए आज म विराटनगरबाट फर्किन्न थिएँ होला। आफूले कुनै अप्ठेरो स्थिति भोगेमा प्रहरीसँग सहयोग लिन हामी महिलाहरूले सक्नुपर्छ । कुनै पनि काम गर्दा हामीले परिवारजनलाई खबर गरिरहनु पर्ने रहेछ । मैले दाइलाई बेलैमा खबर नगरेको भए के हुथ्यो होला ?