June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

हात्तीको रोग परीक्षण पनि मानिस जाँच्ने प्रयोगशालामै

हात्तीको रोग परीक्षण पनि मानिस जाँच्ने प्रयोगशालामै

पुस २३, काठमडौं ।

सौराहाको खोरसोरस्थित हात्ती प्रजनन केन्द्रमा गत पुुस ८ गते ३८ वर्षको पूजाकली नामक पोथी हात्ती मर्‍यो । २०३८ सालमा जन्मिएकी पूजाकली मर्नुको कारण निकुञ्जले अझै सार्वजनिक गर्न सकेको छैन । तत्काल पोस्टमार्टममा खटिनुभएका चिकित्सकहरूको आधार मान्ने हो भने पूजाकलीलाई क्षयरोग भएको थियो ।

“फोक्सो बिग्रिएको थियो । पीप भरिएको थियो । यो क्षयरोगको लक्षण हो”, निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठले भन्नुभयो, “कहिलेकाहीँ निमोनियामा पनि यस्तो देखिन्छ । यसको निक्र्योलका लागि ल्याब टेस्ट गर्न पठाएका छौँ । ” मरेको हात्तीको पोस्टमार्टम गर्ने चिकित्सकमध्ये एक हुनुहुन्छ, डा. श्रेष्ठ ।

त्यही हात्तीको पोस्टमार्टममा खटिनुभएका नेपाल प्रकृति संरक्षण कोष सौराहाका पशु चिकित्सक डा. अमिर सडौला पनि त्यो हात्ती मर्नुका कारण क्षयरोग नै भएको शङ्का गर्नुहुन्छ । “परीक्षण गरेर हेर्दा हामीलाई क्षयरोग नै हो भन्ने लागेको छ । प्रयोगशालाबाट यसको पुष्टि हुन जरुरी छ”, उहाँले भन्नुभयो ।

पछिल्लो एक वर्षमा चितवन निकुञ्जमा पाँचवटा हात्ती मरेका छन् । २०७५ पुस २५ यता शमशेरकली, उमाकली, भोलाप्रसाद, मोतीप्रसाद र पूजाकली मरेका हुन् । तर, अहिलेसम्म यी हात्ती के कारणले मरे भनेर निकुञ्जले सार्वजनिक गरेको छैन । यस्तै विगत डेढ वर्षमा निकुञ्जमा ४९ वटा गैँडा मरेका छन् ।

पछिल्लो आइतबार विद्युतीय धरापमा परेर मरेको आठ वर्षीय भाले गैँडाबाहेक अन्य सबै कालगतिले मरेका निकुञ्जले बताउँदै आएको छ । कालगतिमा पनि के कारणले मरे भन्ने जवाफ निकुञ्जसँग छैन । तर, सन् २०१५ मार्च १ मा निकुञ्जको पश्चिमी क्षेत्र अमलटारीमा मरेको १८ वर्षीय पोथी गैँडामा क्षयरोगको सङ्क्रमण भेटिएको चिकित्सक डा. सडौला बताउनुहुन्छ ।

सन् २०१५ मै निकुञ्जका ११ वटा हात्तीमा पनि क्षयरोग देखिएर औषधि खुवाइएको थियो । पछिल्लो पटक मर्ने हात्तीमा त्यो बेला क्षयरोगको औषधि खुवाइएको पनि थियो । यी घटनाक्रमले पछिल्लो पटक निकुञ्जमा चिन्ताजनक रूपमा बढेकोे गैँडा मर्नुका कारण कतै क्षयरोग नै हो कि भन्ने शङ्का विज्ञहरूमा छ ।

तर, प्रयोगशालाबाट प्रमाणित नभई यो यसै हो भन्नसक्ने अवस्था नभएको प्राविधिकहरू औल्याउँछन् । यसका लागि गहिरो अध्ययन जरुरी छ । समाचार गोरखापत्र पत्रिकाबाट