देशभर वर्षा, उच्च पहाडी र हिमाली भू–भागमा हिमपात

देशभर वर्षा, उच्च पहाडी र हिमाली भू–भागमा हिमपात

पुस २४ , काठमाडौं ।
पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ११ दशमलव नौ डिग्री सेल्सियस रहेको छ । यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेको छ ।
हाल देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने तथा बाँकी स्थानमा सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भेगका अधिकांश भू–भागमा हिमपात भइरहेको बताइएको छ ।
सोमबार बेलुकाबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशैभरि बदलीसहित वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भइरहेको मौसमविद्ले जनाएको छ ।
राति देशको मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रही उच्च पहाडी र हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि देशका पूर्वी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । शनिबार देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने औँल्याएको छ ।