पुस २४, काठमाडौं
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनको मिति हेरफेर हुन नसक्ने बताएका छन् ।संस्थापन इतर समूहले बोलाएको परामर्श बैठकमा सहभागी हुन काठमाडौं आएका कांग्रेसका ५२ जिल्ला सभापतिहरुले बिहीबार सभापति देउवालाई भेटेका थिए ।
आफ्नै निवास बूढानीलकण्ठमा भएको भेटमा देउवाले पार्टीलाई सहमतिकै आधारमा अघि बढाउन आफू तयार रहेको बताएका छन् । देउवाले महाधिवेशनको मिति २०७७ फागुन ७ भने परिर्वतन नहुने प्रष्ट पारेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसंग लगातार छलफल गर्दा पनि सहमति हुन नसकेपछि अनिर्णयको बन्दी बनाउनु हुँदैन भनेर ११ पुसको निर्णय गरेको उनले बताए । उपसभापति विमलेन्द्र निधिले पौडेल समूहसँग भएको सहमति प्रयासबारे जानकारी गराएका थिए भने महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधनबारे बोलेका थिए
सभापति देउवाले जिल्ला सभापतिहरुलाई तपाईंहरुसँग चुनाव हारेकाहरुले भेला गरे के हुन्छ भन्ने प्रश्नसमेत गरेका छन् । पार्टीमा विधि, पद्धतिलाई पनि ख्याल गर्नुपर्ने भन्दै उनले एक पक्षीय सभापतिहरुले भेला गरेकोमा असन्तुष्टि जनाएका हुन् । जवाफमा सभापतिहरुले भने पार्टीप्रति चासो र चिन्ता लागेर आफूहरु काठमाडौं आएको र सभापति पनि बोलाउन सक्ने बताएका छन् ।
उपसभापति विजयकुमार गच्छदारले भने जिल्ला सभापतिहरुको जायज मागलाई सम्बोधन गर्ने आश्वासन दिएका छन् ।