April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

सरकार नागरिकको वाक स्वतन्त्रता कुण्ठित गर्न लागिपरेको काँग्रेस नेताको दाबी

सरकार नागरिकको वाक स्वतन्त्रता कुण्ठित गर्न लागिपरेको काँग्रेस नेताको दाबी

पुस २४, काठमाडौं ।
सरकार नागरिकको वाक स्वतन्त्रता कुण्ठित गर्न लागिपरेको आरोप नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले लगाएका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बिहीबार माइतीघर मण्डलामा आयोजना गरेको सूचना प्रविधि विधेयकविरुद्धको सभालाई सम्बोधन गर्दै नेता थापाले सरकार नागरिकको मुख थुन्न लागेको बताएका छन् । थापाले विधेयकहरु नागरिकको अधिकार खोस्ने गरी आइरहेको बताए ।
’विधेयक यसरी आउनुको पछाडि प्रधानमन्त्री बलियो भएर होइन लुते भए हो’ उनले भने, ‘प्रधानमन्त्रीले काम गरेर जवाफ दिने हिम्मत गर्नुभएन, सामाजिक सञ्जालमा आएको आफूमाथि हुने टिप्पणीलाई नियन्त्रण गर्ने गरी कानून बनाउन खोज्नुभयो ।’ सूचना प्रविधि विधेयक अहिलेको अवस्थामा परित भए सरकारका अरिङ्गाल बाहेक कोही बाँकी नरहने थापाले जिकिर गरे । उनले अगाडि थपे –नेकपा र अखिलका साथीहरुले बुझे हुन्छ भीम रावल र रामकुमारी झाँक्री पनि पक्राउ पर्छन ।,’ थापाले भने, ‘यहाँ श्री ६ बडामहारानी विद्या भण्डारीको जय, श्री ५ प्रधानमन्त्री केपी ओलीको जय, श्री ३ प्रचण्डको जय भन्नेहरु टिक्छन् । अरु सबै सकिन्छन् ।’ यस्तै उनले सूचना प्रविधि विधेयकमाथि सडकदेखि सदनसम्म छलफल गर्न तयार रहेको बताए ।
नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले संविधानविरोधी विधेयकहरु ल्याएर लोकतान्त्रिक व्यवस्थामाथि प्रहार गरेको आरोप लगाएका छन् । उनले भनेका छन् ‘लोकतान्त्रिक व्यवस्था माथि सरकारले प्रहार गरेको छ । नेपाली जनताले लामो संघर्ष बलिदानपछि प्राप्त गरेको लोकतान्त्रिक अधिकारहरु खोसिदै छन ।’ उनले भने, ‘आज जनताका अभिव्यक्ति स्वतन्त्रता खोसिने विधेयकहरु आएका छन् ।’ नेपाली जनतालाई जिस्क्याउने काम भयो भने नागरिकको अधिकार खोसिनेहरु स्वयम् नासिने बताए ।


काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडले पनि नागरिकको अधिकार रक्षाका लागि संसदमा सडकको साथ आवश्यक रहेको बताएका थिए । उनले भने, ‘नागरिकको मुख थुन्ने शासकको मुख सदाका लागि थुनिने छ ।’ पौडेलले पूर्व राजा ज्ञानेन्द्र शाह र प्रधानमन्त्री केपी शर्मा ओलीबीच केही फरक नभएको आरोप लगाएका छन् । ‘नेकपाले गणितीय हिसाबले दुईतिहाइ ल्याएको छ । यो अंक गणितको हो, पूर्ण समीकरण होइन । अंक गणितको बलमा जनतामाथि टेक्ने कोसिस नगर्नुुस,’ उनले सरकारलाई चेताबनी दिदै भने, ‘हिजो ज्ञानेन्द्रको टाउकोमा श्रीपेच थियो आज केपी ओलीको टाउको छैन फरक यत्ति हो ।’ उनले लोकतन्त्र खोस्ने कोशिस गर्दा ज्ञानेन्द्रले भोग्नु परेको नियति केपी ओलीले निम्त्याइरहेको पनि टिप्पणी गरे । उनले प्रधानमन्त्रीलाई आफू राजा भएको घमण्ड रहेको आरोप पनि लगाए । उनले राजाको ठाउँमा नयाँ राजा स्थापना भएको आरोप लगाए । लोकतन्त्रलाई हेर्ने राजाको नजर र केपी ओली नेतृत्वको सरकारको नजर उस्तै रहेको उनको तर्क छ । उनले सरकारले ल्याएको सूचना प्रविधि विद्येयकको सबै क्षेत्रबाट विरोध गर्न जनतालाई आग्रह पनि गरे ।
नेविसंघका नेता सुशिल भट्टको संयोजन र अध्यक्षतामा सप्पन्न कार्यक्रममा नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफ्ले, प्रतिमा गौतम, मनोजमणी आचार्य, पूर्ब उपाध्यक्ष डील्लीराम सुबेदी, राम प्रसाद अधिकारी, पूर्ब सहमहामन्त्री बलदेव तिमल्सिना, पूर्ब केन्द्रिय सदस्य युबराज पान्डे लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।