June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

सन्तोषको सयौं गोल

सन्तोषको सयौं गोल

बुधबार काठमाडौँको मौसम निकै चिसो थियो । हल्का वर्षा पनि । तर यो चिसो मौसम र वर्षाले सन्तोष साहुखललाई भने इतिहास बनाउनबाट रोकेन । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सन्तोषको ए डिभिजन लिगमा गरेको पहिलो र सेन्चुरी दुवै गोलको साक्षी बन्यो । च्यासलको जर्सीबाट नेपाल पुलिस क्लबविरुद्ध १७ औं मिनेटमा गोल गर्दै सन्तोषले दुर्लभ कोशेढुंगा पार गरेका छन्, जुन कीर्तिमान तोडिन धेरै समय लाग्नेछ ।२०६० सालमा थ्री स्टारबाट संकटा क्लबविरुद्ध सन्तोषले ए डिभिजन लिगमा डेब्यु गोल गरेका थिए । सो बेला स्कुल पढ्दै गरेका सन्तोषले १६ वर्षपछि शीर्ष डिभिजनको लिगमा एक सय गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाए । ३४ वर्षीय सन्तोषले जारी लिगमा मच्छिन्द्रविरुद्ध ९९ औँ गोल गरेका थिए । ९९ गोलबाट सयौं गोलसम्मको यात्रा तय गर्नै उनलाई दुइ सय ६० मिनेट समय लाग्यो । सन्तोषले २०६० सालकै लिगमा ब्वाइज युनियनविरुद्ध पहिलो ह्याट्रिक गरेका थिए । एक सयौं गोललाई पनि उनले सामान्य रुपमा व्याख्या गरे । कीर्तीमान बनाएको भन्दा उनलाई टिमलाई फेरि उही लयमा फर्काएकोमा खुशी लागेको छ ।