May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

इराक र इरानमा रहेका नेपाली कामदार फिर्ता ल्याउेन पहल हुँदै

इराक र इरानमा रहेका नेपाली कामदार फिर्ता ल्याउेन पहल हुँदै

पुस २५, काठमाडौं ।
अमेरिका र इरानबीचको द्वन्द्व चर्किएपछि इराक र इरानमा रहेका नेपालीको सुरक्षालाई ध्यान दिँदै स्वदेश फिर्ता ल्याउन पहल नेपाल सरकारले थालेको छ । इरानका जर्नेल कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीचको सम्बन्धमा झन् तिक्तता बढ्दै गएको छ । मङ्गलबार इरानले इराकस्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र आक्रमण गरेपछि अवस्था झन् तनावपूर्ण बन्दै गएको छ ।
दुई देशबीच युद्ध भएका खण्डमा इरान र इराकमा रहेका नेपालीको जीवनसमेत सङ्कटमा परेको अनुमान गरिएको छ । त्यही भएर त्यहाँ रहेका नेपाली ल्याउने पहल सरकारले थलेको हो ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सम्बन्धित देश हेर्ने राजदूतावास र त्यहाँका राजदूतलाई उच्च सतर्कता अपनाउँन निर्देशन दिएका छन् । इराक र इरान दुई देशमा वैधानिक रूपमा काम गर्न जाने अनुमति छैन तर अवैधानिक रूपमा धेरै नेपाली त्यस क्षेत्रमा कामका लागि झण्डै १५ हजार नेपाली रहेका छन् । विशेषगरी अमेरिकी बम्करमा नेपालीहरु काम गरिरहेका छन् । श्रम स्वीकृति दिएर नपठाउने भएकाले त्यहाँ कति नेपाली छन, कहाँ कहाँ छन् भन्ने यकिन तथ्याङ्क सरकारसँग छैन  । त्यो तथ्याङ्क यकिन गर्न परराष्ट्र मन्त्रालयमार्फत इराक हेर्ने कुवेत र इरान हेर्ने पाकिस्तानको राजदूतावासमार्फत खबर गरिएको छ  । इराकको बग्दाद, कुर्दिस्तान लगायतका क्षेत्रमा थुप्रै काम गर्ने नेपाली रहेको सम्पर्कमा आउनेहरूले बताएका छन् । केही सङ्ख्यामा महिला वर्गसमेत घरेलु कामका लागि इराकमा रहेको अनुमान गरिएको छ । इरानमा पनि अवैधानिक रूपमा काम गर्ने नेपाली रहेको अनुमान छ । इराक हेर्ने कुवेतस्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले सरकारी निर्देशानुसार सूचना जारी गरी तथ्याङ्क सङ्कलन थालेको बताएका छन । सूचनामा सतर्क रहेर सुरक्षाका लागि सम्पर्कमा आउन भनिएको छ । नेपाली पहिचान गरी सम्पर्क स्थापित भएपछि थप सुरक्षाको पहल थालिने मन्त्रालयले जनाएको छ ।