May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

चिया निर्यातमा २४ प्रतिशतले गिरावट

चिया निर्यातमा २४ प्रतिशतले गिरावट

पुस २६, काठमाडौं ।
आन्तरिक खपत बढ्नुका साथै चिया निर्यातको प्रक्रिया झन्झटिलो भएका कारण नेपालको चिया निर्यातमा भारी गिरावट आएको नेपाल चिया तथा कफी विकास बोर्डले जनाएको छ । नेपाली चिया जर्मनी, जापान, फ्रान्स, इटाली लगायतका युरोपियन मुलुकमा निर्यात हुदै आएको भएपनि बारम्बार गुणस्तरको कारण देखाउँदै निकासीमा अवरोध गर्ने काम हुँदै आएको छ ।
नेपालमा गुणस्तरिय ठहरिएको चिया भारत तथा तेस्रो मुलुकले पुन जाँच गर्न लगाउने कार्यले पनि चिया निकासीमा समस्या देखिदा निर्यात भारी अंकले घटेको हो ।
चालु आर्थिक वर्षको ५ महिनामा चियाको निर्यातमा २४ प्रतिशतले गिरावट आएको छ । व्यापार निकासी तथा प्रवद्र्धन केन्द्रका अनुसार मंसिरसम्म १ अर्ब ४५ करोड २ लाख ५१ हजार मुल्य बराबरको चिया निर्यात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २४ दशमलव ९ प्रतिशत अर्थात ४८ करोड ३ लाख ७२ हजार रुपैयाँले कम हो । गत आर्थिक वर्षको पहिलो ५ महिनामा १ अर्ब ९३ करोड ६ लाख २३ हजार रुपैयाँको निर्यात भएको थियो । अघिल्लो वर्षको तुलनामा मंसिरमा महिनामा मात्र चियाको निर्यात ९ करोड ६२ लाख ४१ हजार रुपैयाँले घटेको केन्द्रको तथ्याङक छ ।

आर्थिक वर्ष २०७४÷७५ मा रु तीन अर्ब २५ करोड १६ लाख ८६ हजार मूल्य बराबरको १५ हजार ६८५ मेट्रिकटन चिया विभिन्न मुलुकमा निर्यात भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । सोही आवमा मुलकभर २८ हजार ५९५ हेक्टर जमीनमा गरिएको चिया खेतीबाट २४ हजार ८०४ मेट्रिकटन चिया उत्पादन भएको तथ्याङ्क छ ।
साथै, आव २०७४÷७५ मा रु १२ करोड बराबरको ३७२ मेट्रिकटन चिया आयात भएको छ । त्यस्तै, आव २०७३÷७४ मा रु दुई अर्ब ५३ करोड ३८ लाख ८५ हजार मूल्य बराबरको चिया निर्यात भएको थियो ।
त्यसमध्ये एक करोड ८८ लाख केजी सिटीसी तथा ५९ लाख केजी अर्थोडक्स चियाको उत्पादन भएको बोर्डको तथ्याङ्क छ । कूल क्षेत्रफलमध्ये १३ हजार ९२७ हेक्टरमा साना किसानतर्फको खेती विस्तार भएको छ भने साना चिया किसानको सङ्ख्या करीब १५ हजार १०० पुगेको छ ।
हाल तराईमा ३२ सिटीसी र दुई अर्थोडक्स चिया प्रशोधन केन्द्र सञ्चालनमा छन् भने पहाडमा ३१ ठूला तथा मझौला अर्थोडक्स चिया प्रशोधन केन्द्र सञ्चालनमा रहेको छ ।

पछिल्लो समयमा स्पेसियल टी र ग्रीन टीको माग पूर्ति गर्न १०० भन्दा बढी लघु चिया प्रशोधन केन्द्र सञ्चालनमा आएका छन् । चिया उद्योगले करीब ६० हजार श्रमिकलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । नेपालमा पूर्वका झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुमका साथै दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर, कास्की, लमजुङलगायत जिल्लामा चिया खेतीको विस्तार भइरहेको छ । पछिल्लो तथ्याङ्कअनुसार वार्षिक रु दुई करोड ४८ लाख किलोग्राम तयारी चिया उत्पादन भएको देखिन्छ ।