May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

चाकु व्यापारीलाई भ्याइनभ्याइ

चाकु व्यापारीलाई भ्याइनभ्याइ

पाँचखाल नगरपालिका– ४ लामीडाँडाका चाकु व्यापारीलाई हिजोआज चाकु बनाउन भ्याइनभ्याइ छ । माघेसङ्क्रान्ति नजिकिँदै गर्दा बजारमा यसको माग बढी हुने भएकाले यतिखेर चाकु व्यवसायी निकै ब्यस्त देखिन्छन् । १५ वर्षदेखि सो व्यवसाय गर्दै आएका पाँचखाल नगरपालिका–४ लामीडाँडाका विष्णुपुकार श्रेष्ठले दैनिक १०० किलोदेखि १५० किलोसम्म चाकु बिक्री भइरहेको बताए ।

‘दिनको यति नै व्यापार हुन्छ भन्ने त हुँदैन तर पनि कामदारको ज्याला कटाएर दुई हजारदेखि दुई हजार ५०० सम्म कमाइ हुन्छ’, उनले भने, ‘चाकु बनाउनलाई दिनको ५० किलोको दुई÷तीन बोरासम्म सख्खर खपत हुन्छ ।’

त्यसका लागि आवश्यकपर्ने कच्चपदार्थ (सख्खर) कृष्णनगरबाट ल्याउने गरेको र एक पटकमा ५०÷६० बोरासम्म ल्याउने गरेको उनले बताए । खासै पुस र मागमा बिक्री हुने गरेको चाकु बनाउने काम एक÷दुई महीनासम्म चल्ने गरेको उनको भनाइ छ । काम गर्नेलाई दैनिक सात सय रुपैयाँका दरले ज्याला दिने गरेको उले बताए । उनको पसलमा चार जनाले काम गरिरहेका छन् ।

अरनिको राजमार्गको छेउमा पसल गरेर चाकु व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठले बाहिर सडक छेउमा नै यात्रा गर्ने यात्रुलाई बिक्री गर्ने गर्छन् । चाकु खरिद गर्न सिन्धुपाल्चोक, दोलखा र रामेछापको मन्थलीसम्मका व्यापारी पसलमा आउने गरेको उनले बताए ।

अर्का नजिकैको चाकु पसलमा काम गर्दै आएका श्याम तामाङले सानाठूला गरी दैनिक चार हजार पिससम्म बिक्री गरिरहेका छन् । ‘किलोको हिसाबमा भन्दा पनि हामीले सख्खरलाई घोलेर साना र ठूला साइजमा चाकु बनाएर प्याकिङ गर्ने हो, त्यसरी बनाएका चाकु दैनिक चार हजार पिससम्म बिक्री हुन्छ,’ ताामाङले भने, ‘बजारमा मागअनुसार पु¥याउन यतिखेर हम्मेहम्मे हुन्छ ।’ उनका अनुसार यहाँ उत्पादन हुने चाकु काभ्रेपलाञ्चोकलगायत सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काठमाडौँका विभिन्न बजारमा बिक्री हुने गरेको छ ।

पाँच÷छ वर्ष अगाडिदेखि काम गर्दै आउनुभएका तामाङले दैनिक एक हजार १०० पाउने गरेको बताए । सो पसलमा काम गर्ने अरु पाँच जना कामदारले भने कामअनुसारको दैनिक ७०० देखि ८०० रुपैयाँसम्म ज्याला पाउने गरेको उनको भनाइ छ । कामदारले दाउरा चिर्ने, घोल्ने, तयार पारिएको चाकुमा पौष्टिक तत्व मिसाएर प्याकिङ गर्ने र बजारमा बिक्री गर्नेलगायतका काम गर्छन् । पुस–माघको जाडो मौसममा शरीरलाई न्यानो राख्ने र शरीरलाई आवश्यकपर्ने पौष्टिक तत्व प्राप्त हुने भएकाले मानिसले चाकु सेवन गर्ने गर्दछन् । (रासस)