भाटभटेनी लगायतका कम्पनीले नक्कली भ्याट बिल प्रयोग गरेको ठहर

भाटभटेनी लगायतका कम्पनीले नक्कली भ्याट बिल प्रयोग गरेको ठहर

पुस २८ , काठमाडौं ।
सर्वोच्च अदालतले भाटभटेनी लगायतका विभिन्न कम्पनीहरुले नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छलेको फैसला गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले भाटभटेनी स्टोर्स, शंकर अक्सिजन ग्यास प्रा.लि, एआईटी प्रा.लि र महेश बानियाँले नक्कली बिल प्रयोग गरेर राजस्व छलेको फैसाला गर्दै राजस्व न्यायाधीकरणबाट पहिला भएको फैसला नै सदर गरेको छ ।
प्रशासनिक पुनरावलोकन र राजस्व न्यायाधीकरणबाट पनि विपक्षमा फैसला आएपछि व्यवसायीहरु सर्वोच्चमा रिट हालेका थिए । सर्वोच्चले पनि राजस्व न्यायाधीकरणको फैसलालाई नै सदर गरेपछि राजस्व छलेको प्रमाणित भएको हो ।
२०६६ सालपछि आन्तरिक राजस्व विभागले विभिन्न व्यापारिक घरानाले गरेको कर छलीबारेमा अनुसन्धान गर्दा भाटभटेनी सुपरमार्केटसहित विभिन्न २४ व्यापारिक प्रतिष्ठान र कम्पनीले किन्दै नकिनेको सामानको भ्याट बिल देखाएर २ अर्ब ७० करोड रुपैयाँ भ्याट छली भएको देखाएको थियो । त्यस्मा भाटभाटेनी सुपरमार्केटले मात्र झण्डै ६५ करोडको कर छली गरेको देखिएको छ । एआइटीले २४ लाख ९५ हजार रुपैयाँ, अरुण कन्टिडेन्टलले ५० लाख १६ हजार रुपैया महेश बानियाँले ५७ हजार पाँच सय अड्चालिस, शंकर अक्सिजनले २२ लाख १३ हजार रुपैया कर छलि गरेको ठहर गरेको हो ।