गायिका आस्था राउतविरुद्ध पक्राउ पुर्जी जारी

गायिका आस्था राउतविरुद्ध पक्राउ पुर्जी जारी

माघ ५, काठमाडौं ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका आस्था राउतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसूरमा राउतविरुद्ध आइतबार पक्राउ पुर्जी जारी भएको हो ।
त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट झापा हुँदै भारतको सिक्किम जाने क्रममा राउतले बिहीबार प्रहरी जवान रमिता श्रेष्ठमाथि अभद्र व्यवहार गरेको उजुरी परेको थियो ।

महानगरीय प्रहरी परिसरका अधिकारी राउतविरुद्धको पक्राउ पुर्जीको निवेदनसहित आइतबार दिउँसो २ बजे बबरमहलस्थित प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष पुगेका थिए । परिसरका अधिकारी प्रमुख जिल्ला अधिकारीकामा निवेदन पुगेपछि राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उनीविरुद्ध आरोप पुष्टि भए प्रमुख जिल्ला अधिकारीले १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछन् ।