०८ माघ, २०७६, काठमाडौं ।
विश्वमा बेलाबेलामा विभिन्न रोगको संक्रमण फैलिने गरेको समाचार आइरहन्छ । त्यसको असर नेपालमा पनि पर्ने गरेको छ । पछिल्लो समय चिनमा फैलिएको कोरोना भाइरसबाट नेपाली नागरिक पनि संक्रमित भएको हल्ला सँगै यसको बारेमा नेपालमा पनी चर्चा परिचर्चा हुन थालेको छ ।
चीनमा दुई जनाको ज्यान लिएको नोबेल कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले समेत सतर्कता अपनाउन अपिल गरेको छ ।
चीनमा देखिएको नयाँ भाइरस (कोरोनाभाइरस)को परीक्षण गर्ने प्रविधि नेपालमा नभएकाले यदी यो भाइरसबाट नेपालमा कोही संक्रमित भए नमूना जाँचका लागि विदेश पठाउनु वाहेक अरु विकल्प नै छैन । नयाँ खालको भाइरस भएका कारण पहिचानमा समस्या हुने चिकित्सकको भनाइ छ ।
चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ । चिनियाँ सरकारका अनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको र संक्रमितिको संख्या ४ सय ४० पुगेको बीबीसीले जनाएको छ । त्यस्तै सरुवा रोगको रुपमा देखा परेको भाइरस चीन हुदै अन्य देश थाइल्यान्ड, जापान र फ्रान्समा समेत देखिएको छ ।
चिनियाँ सरकारी अधिकारीहरुले मानिसबाट मानिसमा उक्त रोग सरेको पुष्टिसमेत गरेका छन् । यो रोग श्वास प्रश्वासकै माध्यमबाट सर्ने गर्छ ।
उसो भए नेपालमा जोखिम कति छ ?
सरकारले नेपाल भ्रमण बर्ष २०२० मनाउदै गर्दा यो रोग नेपालमा पनि नफैलिएला भन्न सकिन्न । नेपालमा पनि पर्यटकको रुपमा भित्रने चिनियाँको संख्या उच्च रहेको छ । जसका कारण उनीहरुको माध्यमबाट नेपालमा पनि कोरोना सर्न सक्ने जोखिम रहेको छ । चिनियाँ पर्यटकको आगमन र चीनमा पढ्न जाने विद्यार्थीको संख्यात्मक वृद्धिले नेपालमा पनि संक्रमणको जोखिम बढाएको छ ।
कोरोना भाइरस लागेको कसरी थाहा पाउने?
कोरोना भाइरस जनावरबाट मानिसमा सरेको हो । यो मान्छेबाट मान्छेमा कति छिटो सर्छ भन्नेमा अध्ययन र अनुसन्धान भइरहेको छ । संक्रमण फैलिएको क्षेत्रमा आवतजावत भएमा जोखिमको सम्भावना बढ्छ ।
कोरोना भाइरसको संक्रमण भएमा ज्वरो आउने, श्वास प्रश्वासमा समस्या आउने र निमोनियको लक्षण देखिने गर्छ ।
नेपाल सरकारले त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा स्वास्थ्य सुरक्षामा कडाइ गरेको छ ।
विदेशी पर्यटन तथा स्वदेश फर्किएका नेपालीको स्वास्थ्य जाँचका लागि विमानस्थलमा विशेषज्ञ चिकित्सकसहित ५ जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।