April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

उखु किसानले भुक्तानी नपाउने नै हो त?संघर्ष समितिले दियो पुनः आन्दोलनको चेतावनी

०९ माघ, २०७६, काठमाडौं ।
मन्त्रालयले गत पुष १८ गते उखु किसानसँग चिनी मिल सञ्चालकहरुबाट माघ ७ गते भित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी गराउने सहमति गरेको थियो । तर, सरकार र उखु किसानबीच भएको सम्झौता सकिँदासम्म किसानले १६ प्रतिशत मात्रै भुक्तानी पाएका छन् । सरकारले उद्योगलाई दिएको समयसीमा सकिँदा पनि उद्योगले उखु किसानको बक्यौता रकम भुक्तानी गर्न सकेन ।
सरकारले दिएको समयसीमा सकिँदासम्म १४ वटा चिनी मिलमध्येका पाँचवटा मिलले अझै उखु किसानको भुक्तानी गरेको छैन । त्यसमध्ये अन्नपूर्ण सुगरमिलको ३८ करोड १ लाख, श्रीराम सुगरमिलको २६ करोड ७७ लाख ७८ हजार र महालक्ष्मी सुगर मिलको ९ करोड ९० लाख ५८ हजार रुपैयाँ बक्यौता बाँकी रहेको छ । यसैगरी, लुम्बिनी सुगरमिलको १० करोड र बाग्मती खाडसरी सुगरमिलको ८ करोड ४१ लाख ४१ हजार रुपैयाँ बक्यौता अझै किसानलाई भुक्तानी गर्नुपर्नेछ ।
बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दिनेश भट्टराईले अन्नपूर्ण सुगर एण्ड जनरल ई प्रालि, इन्दीरा सुगर एण्ड एग्रो ई प्रालि, बाबा बैजुनाथ चिनी उद्योग, लुम्बिनी चिनी उद्योग, श्रीराम सुगर मिल्स लगायतका उद्योगको आर्थिक कारोबार रोक्का गर्न आन्तरिक राजश्व विभागमा पत्राचार गर्ने तयारी गरिएको बताएका छन् ।

उनले सम्पर्कमा नरहेका उद्योगहरुको बैंक खाता समेत रोक्का हुने बताए । उनले ती उद्योगहरुलाई सम्पर्कमा ल्याइदिन मन्त्रालयले बुधबार नै गृह मन्त्रालयलाई पत्राचार गरेको समेत पत्रकार सम्मेलनमा जानकारी दिए ।
यता संघर्ष समितिले भने भुक्तानी नदिइएको भन्दै पुनः आन्दोलनको चेतावनी दिएको छ ।