April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

बैंकहरुले जथाभावी कर्जा प्रवाह गरे क्रेडिट सिलिङ लगाउने अर्थमन्त्री खतिवडाको चेतावनी

बैंकहरुले जथाभावी कर्जा प्रवाह गरे क्रेडिट सिलिङ लगाउने अर्थमन्त्री खतिवडाको चेतावनी


माघ १०, काठमाण्डौ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले जथाभावी र जुनसुकै क्षेत्रमा मनपरी कर्जा प्रवाह गरे ‘क्रेडिट सिलिङ’ लगाउने चेतावनी दिएका छन् ।
राष्ट्रिय बाणिज्य बैंकको ५५ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री खतिवडाले यस्तो चेताबनी दिएका हुन् । अर्थमन्त्रीले जथाभावी र जुनसुकै क्षेत्रमा मनपरी रुपमा बैंक तथा वित्तीय क्षेत्रले कर्जा प्रवाह गर्दे आएकोले सो क्रम जारी रहेमा ‘क्रेडिट सिलिङ’ लगाउने चेतावनी दिएका हुुन । उनले २०४२–४८ सालतिर सरकारले क्रेडिट सीलिङ लगाउनु परेको घटना सम्झउँदै भने – ‘दातृ निकायले पत्याउने किसिमको आर्थिक व्यवस्था गर्ने क्रममा क्रेडिट सिलिङ लगाउँनु परेको थियो, त्यो दिन फेरी नआओस् ।’ उनले बाणिज्य बैकलाई संकेत गर्दे थपे–‘तपाईहरुले त्यो दिन आउन दिनुभएन । अनुत्पादक क्षेत्रमा कर्जा जाँदै नजाओस् । हामीले धेरै कर्जा प्रवाह गर्नुछ, उच्च आर्थिक वृद्धिदर हासिल गर्नुछ । तर, उत्पादन पनि बढाउनुछ भन्ने कुरामा ध्यान दिएर बैंकहरु त्यसतर्फ लाग्नुहोला ।’
उनले बैंक मात्र बाँच्ने र व्यवसाय गर्ने चाही बाँच्नै नसक्ने अवस्था अन्तका लागि काम गर्न समेत आग्रह गरे । उनले भने– ‘बैंकहरुको जोखिम पनि हेर्नुपर्छ, तर व्यवसायिक जोखिमलाई पनि उत्तिकै ध्यान दिनुपर्छ ।’
खतिवडाले निक्षेप र कर्जाको ब्याजदर बीचको अन्तर (स्प्रेड रेट)मा सरकार कठोर बनेको बताएका छन् । उनले अन्तरलाई तोकिएको सीमाभित्र राख्न र यो विषयलाई पालना गराउने विषयमा कुनै सम्झौता नगर्न सम्बन्धित निकाएलाई निर्देशन समेत दिए ।
साधारणसभालाई सम्बोधन गर्दै मन्त्री खतिवडाले सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेट र नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिलाई आत्मासाथ गर्दे बैंकहरु मर्जरमा जानु पर्नेमा जोड दिएका छन् । अर्थमन्त्रीले देशलाई २७ वटा वाणिज्य बैंक नचाहिने र मर्जरमा जाने संस्थालाई सरकारले प्रोत्साहित गर्ने समेत उनले वचन दिए ।
उनले सरकारी सरकारको करिब शतप्रतिशत नै सेयर लगानी रहेको बाणिज्य बैंक मर्जरमा नगएकोमा असन्तुष्टी ब्यक्त गरे । उनले राष्ट्रिय बाणिज्य बैंकलाई संकेत गर्दे भने– यो बैंकले आफ्नो व्यवसाय मिल्ने संस्था खोजेर मर्जरमा जानु उपयुक्त हुन्छ ।’
अर्थमन्त्री खतिवडाको सरकारी बैंक भएर पनि आइपिओ निष्कासन गर्नुपर्ने प्रबधान तोडेर कानूनको पालना नगरेकोमा असन्तृष्टी जनाए उनले भने–‘कानून पालनाको सवालमा चाँडो यो सस्थाले निर्णय गर्न आवश्यक देखिन्छ ।’
राष्ट्रिय वाणिज्य बैंकमा अहिले सर्वसाधारणको १ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप छ । बैंकले १ खर्ब ५० अर्ब रुपैयाँ कर्जा तथा लगानी गरेको यो बैंकमा एनआइडिसी डेभलेपमेन्ट बैंक मर्जर भएर आएको नगन्य प्रतिशत बाहेक कुनैपनि शेयर पबिलकको छैंन् ।