May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

राष्ट्र बैकद्धारा वैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला

राष्ट्र बैकद्धारा वैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला

माघ ११, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्षित गरी वैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला गरेको छ ।
४० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गरेको हो । पाँच वर्षमा परिपक्व हुने बचतपत्रमा लगानी गर्नेले वार्षिक १० प्रतिशतको दरमा प्रत्येक ६ महिनामा व्याज भुक्तानी लिन सक्ने ब्यावस्था गरिएको छ । वैदेशिक रोजगारीमा रहेका वा रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक, गैरआवासीय नेपाली वा उनीहरुका परिवारको सदस्यहरूले यो बचतपत्र खरिद गर्न सक्नेछन् ।
यस आर्थिक वर्षमा राष्ट्र बैंकले दोश्रो पटक वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको हो । यसअघि राष्ट्र बैंकले २० करोडको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको थियो ।
१० प्रतिशत व्याजदर पाइने यस बचतपत्रको व्याज किनेकै दिनबाट पाइने र ब्याज रकम प्रत्येक ६(६ महिनामा भुक्तानी राष्ट्र बैंकले जानकारी दिएको छ । यसको सावा भुक्तानी भने २०८१ मा हुनेछ । यो बचतपत्र धितो राखेर बैंकबाट कर्जासमेत लिन सकिन्छ । घटिमा १० हजार र बढिमा १० हजारले भाग गर्दा शेष भाग जाने गरी बचतपत्रका लागि आवेदन दिन सकिने छ ।
बचतपत्र किन्न पासपोर्ट, भिसा, कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र र दुई प्रति फोटो चाहिन्छ । बचतपत्र किन्नका लागि सिटिजन्स बैंक, नबिल बैंक, माछापुच्छे, प्रभु, सनराइज, सिद्धार्थ, सानिमा र सेन्चुरी बैंकमार्फत फारम बुझाउन सकिन्छ ।
त्यसैविच वैदेशिक रोजगारीमा जाने कामदारले तिर्ने बीमा बापतको रकम अतिरिक्त शुल्क बिनै अनलाइन भुक्तानी गर्न पाउने व्यवस्था गरिएको छ । वैदेशिक रोजगार विभाग र अन्य भुक्तानी प्रदायकहरुबीच सम्झौता गरी सेवाग्राहीका लागि अनलाइन भुक्तानीको व्यवस्थाा गरिएको हो ।
इ–सेवा, फोनपे र वैदेशिक रोजगार विभागबीच भुक्तानी सम्बन्धमा सम्झौता भएको छ ।
अनरलाइन रकम भुक्तानी प्रदायक संस्थाले बीमा शुल्कको रकम सम्बन्धित बीमा कम्पनीको बैंक खातामा जम्मा गरिदिनेछ । त्यस्तो रकम प्रत्येक दिन म्यादी बीमा जारी गर्ने कम्पनीले तोकेको बैंक खातामा जम्मा गर्ने व्यवस्था मिलाउने छ । यस्तै वैदेशिक रोजगार बोर्डमा जाने कल्याणकारी कोषको रकम पनि अनलाइनबाटै भुक्तानी गर्न सम्झौताको तयारी भइरहेको विभागले जनाएको छ । ।