May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

अदालतले रोक्ला त सभामुख बन्न सापकोटालाई ?

अदालतले रोक्ला त सभामुख बन्न सापकोटालाई ?

माघ १२, काठमाडौं ।
चार महिनापछि प्रतिनिधिसभाको सभामुखको चयन आज हुँदैछ । लामो विवादपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले माघ ५ गते सभामुखको उम्मेदवार तय गरेपछि प्रक्रिया अघि बढेको थियो । गत मंगलबार नै मनोनयन भएपनि राष्ट्रियसभा सदस्यको निर्वाचनका कारण प्रक्रिया पछि सारिएको थियो ।
सर्वोच्च अदालतमा आज नै सभामुख चयन प्रक्रिया अघि नबढाउन माग गरिएको रिटको पनि सुनुवाइको पेसी तोकिएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीद्वारा दायर रिटको पेसी आजका लागि तोकिएको छ । निवेदकको मागदाबी अनुसार आदेश जारी भएमा निर्वाचन प्रक्रिया रोकिनुका साथै सापकोटाविरुद्ध काभ्रे प्रहरीमा विचाराधीन जाहेरीको अनुसन्धान प्रक्रिया अघि बढ्नेछ । आदेश जारी नभएको अवस्थामा सदनको प्रक्रिया अघि बढ्नेछ ।
यसअघि इन्सेकले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका आरोपित सापकोटालाई सभामुख बनाउने निर्णयमा पुनर्विचार गरी कानुनी शासनको सम्मान गर्न माग गरिसकेको थियो ।

इन्सेकको अभिलेख अनुसार तत्कालीन छत्रेबाँझ गाविस–५ दाप्चाका अर्जुनबहादुर लामालाई २०६२ वैशाख १६ गते दिउँसो कृष्ण मावि दाप्चाको प्राङ्गणबाट माओवादी कार्यकर्ताहरूले अपहरण गरेका थिए । कृष्ण मावि, दाप्चाको सञ्चालक समितिको अध्यक्ष पदमा निर्वाचित भएपछि आयोजित स्वागत कार्यक्रममा सरिक भइरहेको बेला माओवादी कार्यकर्ताले अपहरण गरेर अज्ञात रहेको समय २०६२ असारमा मृत्यु भएको थियो ।
लामालाई अपहरणको नौ महिनापछि २०६२ पुसमा माओवादी नेता सूर्यमान दोङले ‘अर्जुनलाई सफाया गरिएको’ सार्वजनिक गरेका थिए । त्यसैलाई हत्या भनेर हालिएको रिटको आज सुनुवाई हुने हो भने सापकोटा सभामुखबन्नबाट रोकिने सम्भावना छ ।
सभामुखका एकल उम्मेदवार अग्नि सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाइ न्यायाधीश हरि फुयालले नगर्ने भएका छन् । सर्बोच्चको न्यायाधीश हुनुअघि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेकाले नैतिकताका कारण उनले मुद्दा नहेर्न लागेको स्रोतले बताएको छ । यदी फूयलले मुद्धा नहेर्ने र समय थपिदै जाने हो भने आजै सापकोटा सभामुख बन्ने छन् ।