May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

अष्ट्रेलियाको राजधानीमा आपत्कालीन घोषणा

अष्ट्रेलियाको राजधानीमा आपत्कालीन घोषणा

१७ माघ, २०७६, काठमाडौं ।
गएको सेप्टेम्बरदेखि फैलिएको डढेलो क्यानबेराको दक्षिणी भेगमा पुग्न थालेपछि अष्ट्रेलियाको राजधानी क्यानबेरामा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । क्यानबेराको उपनगरका बासिन्दालाई ज्यान जोगाउन सुरक्षित ठाउँमा जान पनि आग्रह गरिएको सञ्चारमाध्यमले जनाएका छन् ।
गएको सेप्टेम्बरयता फैलिरहेको डढेलोका कारण एक करोड ११ लाख हेक्टर क्षेत्रफलको जमिन डढिसकेको छ । त्यस्तै, अहिलेसम्म ३३ जनाको ज्यान गएको छ भने हजारौँ घरमा क्षति पुगेको छ ।
अग्नि नियन्त्रकहरू ज्यानको बाजी राखेर ४० डिग्रीको तापक्रममा तीब्र गतिको हावाको बेगमा आगो निभाउन जुटिरहेका छन् । आगोलाई नियन्त्रणमा लिन कठिन भैरहेको अग्नि नियन्त्रकहरूले बताएका छन् ।

अधिकारीहरूले यो आगलागी गएको दुई दशककै सबैभन्दा भयानक र खतरनाक भएको बताएका छन् ।
आगलागीको जोखिम कम नभएसम्म आपत्काल लागू हुने अधिकारीहरूले बताएका छन् । एजेन्सी ।